युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव
काठमाडौं, वैशाख ६ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मस्तिष्कघात सामान्यतया ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने भएपनि नेपालमा यो समस्या युवा उमेरमै देखिनु चिन्ताको विषय भएको बताउनुभएको छ ।
उहाँले ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को प्रथम अन्तर्राष्ट्रिय सम्मेलनलाई यहाँ सम्बोधन गर्नुहुँदै सो चिन्ता व्यक्त गर्नुभएको हो । ‘हाम्रो देशमा ४५ वर्ष मुनिका धेरै युवा मस्तिष्कघातबाट पीडित हुनु चिन्ताको विषय हो’ उहाँले भन्नुभयो, ‘यो डरलाग्दो अवस्थालाई न्यूनीकरण गर्न अति आवश्यक छ ।’
उपराष्ट्रपति यादवले रोगहरू बढ्नुको मुख्य कारण मानिसको अव्यवस्थित जीवनशैली भएको बताउनुभयो । ‘आरामदायी जीवनशैली, धुमपान, मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलका कारण धेरैको अकालमै मृत्यु हुने गरेको छ । हामीले हाम्रो दैनिकी र जीवनशैलीमा सुधार गर्न जरुरी छ’ उहाँले भन्नुभयो, ‘नियमित व्यायाम, स्वास्थ्यकर खानपान, आवधिक स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शबाट धेरै रोगलाई नियन्त्रण गर्न सकिन्छ ।’
उहाँले न्यूरोसँग सम्बन्धित रोगको निदान र उपचारमा जोड दिँदै शरीरका विभिन्न अङ्गमा रोगको दीर्घकालीन असरलाई कम गर्न सक्नु पर्ने बताउनुभयो । उहाँले नेपालमा सहरी क्षेत्रमा स्वास्थ्य क्षेत्रको अवस्था केही सामान्य भए पनि दुर्गम गाउँवस्तीमा बसोबास गर्ने आम नागरिकलाई समयमै उपचार पाउन अझै गाह्रो रहेको बताउनुभयो ।
‘अझ जटिल र घातक रोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यता छ । यो बाध्यता हटाउँदै अन्तर्राष्ट्रिय स्तरको सेवा स्वदेशमै उपलब्ध गराउन सक्नु पर्दछ’ उहाँले भन्नुभयो, ‘न्यूरोसँग सम्बन्धित रोगको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवन रक्षाका लागि सरकारसँगै यस क्षेत्रमा क्रियाशील सङ्घ संस्था पनि प्रतिबद्ध हुन जरुरी छ ।’
उहाँले ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ ले न्यूरोलोजीसँग सम्बन्धित रोगको नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै न्यूरोलोजीको क्षेत्रमा देखिएका समस्या पहिचान गर्न र समाधानका लागि यो सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपराष्ट्रपति यादवले प्रा.डा. दिनेशविक्रम शाह, प्रा.डा. रवीन्द्र श्रेष्ठ र डा. वीरेन्द्रकुमार विष्टलाई संस्थाका तर्फबाट सम्मानपत्र समर्पण गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्