Techie IT
बिहीबार, कात्तिक २७,२०८३

बेनीमा मजदुर दिवस मनाइयो


म्याग्दी, वैशाख १९ गते । एक सय ३५ औं विश्व मजदुर दिवसका अवसरमा बेनीमा मजदुरहरुले र्‍याली निकालेका छन् । मजदुरहरुले ट्रेड युनियनको झन्डा, बाजागाजा र

झाँकीसहित बजारमा र्‍याली निकालेका हुन् ।

नौमती बाजा सहित बेनीको विरेन्द्रचोकबाट सुरु भएको र्‍यालीले मजदुर हितका विभिन्न नाराहरु लगाउँदै मंगलाघाट, न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, संगमचोक हुँदै बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) म्याग्दीको आयोजनामा आयोजित र्‍यालीमा मजदुरहरुले श्रमिकको पेसागत मर्यादा, सम्मानको प्रत्याभूति र राज्यका निकायहरुमा प्रतिनिधित्वको माग लगायतका नारा लगाएका छन् ।

श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व मजदुर दिवस मनाइँदै छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बेनीमा मजदुर दिवस मनाइयो


तपाईको कमेन्ट लेख्नुहोस्