Techie IT
बिहीबार, कात्तिक २७,२०८३

टोखामा विस्का जात्रा सुरु


काठमाडौँ, वैशाख १ गते । ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको टोखामा विस्का नखः (जात्रा) आजदेखि सुरु भएको छ । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्षझै यसवर्ष पनि आजदेखि वैशाख ४ गतेसम्म पाँच दिन विस्का नखः मनाउन लागिएको हो ।

टोखा नगरपालिका वडा नम्बर २ र ३ को मुख्य आयोजना तथा नेवाः गुथि टोखाको व्यवस्थापनमा जात्रा मनाउन लागिएको हो । नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले पाँच दिनसम्म मनाइने विस्का जात्राको लिङ्गो उठाइ सकिएको र आज साँझ सपनविनायकको रथ, चण्डेश्वरीको रथ र मसानकालीको रथ ‘जाली द्यो’ कोरुपमा बाजागाजासहित जात्रा गरी इन्द्रायणी दाफा खलःले मूल नाइके बहाल गरी रथ आआफ्नो मन्दिरमा लैजान लागिएको जानकारी दिनुभयो ।

विस्का जात्राका भक्तजन आज बिहान शिवपुरीस्थित बागद्वार स्नान गर्न गइसकेका छन् । बागद्वारबाट आज राती चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिरमा आउँछन् । सपनतीर्थ मन्दिर परिसरमा गौमुखी र बहुमुखी खोला थुनेर निर्माण गरिएको सिद्धपोखरीमा भक्तजनले नयाँ वर्ष सुरु हुँदै गर्दा वैशाख १ गते एकाबिहानै नुहाउने गर्दछन् । नयाँ वर्षकै दिन साँझ ६ बजे आआफ्नो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलागः टोलमा, चण्डेश्वरीको रथ थलागः टोलमा र मसानकालीको रथ भूतखेलमा बिसाइने मूल नाइके हेमराज श्रेष्ठले बताउनुभयो ।

वैशाख २ गते बिहान तीनवटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर ११ बजे थलागः टोलमा लस्करै बिसाइन्छ । सोही दिन दिउँसो ३ बजे जीवित देवी कुमारीको आगमन गराई तलेजुबाट सरकारी पूजा ल्याई सिन्दुरजात्रा गरी उठाइन्छ । सोही दिन साँझ गाउँ परिक्रमा गरी साँझ ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइन्छ । सोही रात भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

वैशाख ३ गते बिहान ७ बजे तपलाक्षीःबाट सिन्धुरजात्रा गरी देवता उठाएर गाउँ परिक्रमा गर्न लैजाने गर्दछन् । सोही दिन बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइन्छ । सोही दिन दिउँसो ३ बजे तलेजु गुठीबाट जीवित देवी कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिन्छ । मसानकालीको मन्दिर र गाउँको परिक्रममा गरी कोनेलाक्षीःमा बिसाइन्छ । सोही रात पनि भक्तजनहरू रथको अगाडी भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान ६ : ३० बजे सिन्दुरजात्रा गरी सारा बाजागाजासहित गाउँ परिक्रमा गर्न लगिन्छ र बिहान ११ बजेतिर गच्छे टोलमा बिसाइन्छ । सोही दिन दिउँसो ३ बजे तलेजु गुठीबाट जीवित देवी कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सबै रथ कपडा विच्छाइ गाउँ परिक्रममा गरी आआफ्नो देवी घर-घरमा भित्र्याइन्छ । त्यसबाट जात्रा समापन हुन्छ । वैशाख ५ गते बिहान ६ : ३० लिङ्गो ढाली जात्रा विसर्जन हुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा विस्का जात्रा सुरु


तपाईको कमेन्ट लेख्नुहोस्