Techie IT
बिहीबार, कात्तिक २७,२०८३

ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुलाउने व्यवसायीको घोषणा


काठमाडौं, चैत २९ गते । नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सैं घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् ।

बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानुनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल २४ सैं घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले दरबारमार्ग र ठमेल २४ सैं घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रुपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताउनु भयो । उहाँले अहिले ठमेलमा मात्रै आठ हजारभन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताउनु भयो । उहाँले दरबारमार्ग जस्तो ठमेलमा २४ सैं घण्टा व्यवसाय सञ्चालन गर्न सहज नभएको जानकारी दिनुभयो ।

अध्यक्ष शर्माले स्थायी बसोवास गर्ने क्षेत्र र ठूलो क्षेत्र भएकाले व्यवस्थापन गर्न चुनौति रहेको जानकारी दिनुभयो । उहाँले स्वदेशी तथा विदेशी पर्यटकले २४ सैं घण्टा ठेमलमा घुम्न, बस्न, खान सक्ने अनुभुति गर्ने बताउनु भयो । उहाँले परिषद् ठेमललाई व्यवस्थित बनाएर आकर्षणको केन्द्र बनाउनु चाहेको दाबी गर्नुभयो ।

उहाँले ठमेल भगवान बहाल क्षेत्र भित्रका व्यवसायीले भने २४ घण्टा व्यवसाय सञ्चालन गराउन नपाउने जनाउनु भयो । उहाँले ठमेलको भगवान बहालमा स्थानीयको बसोवास भएकाले १० देखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने बताउनु भयो ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले दरबारमार्गमा करिव दुई सय व्यवसायी रहेको बताउनु भयो । उहाँले  करिव सात हजारभन्दा बढी रोजगारी पाएको बताउनु भयो । उहाँले दरबारमार्ग विकास बोर्डले विगत लामो समयदेखिको प्रयास अहिले सफल हुन थालेको बताउनु भयो ।

उहाँले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको सक्रियताले पूर्णता पाउन थालेको बताउनु भयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुलाउने व्यवसायीको घोषणा


तपाईको कमेन्ट लेख्नुहोस्