प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक १५७ सांसदको विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा उहाँको पक्षमा १५७ र विपक्षमा ११० मत प्राप्त भएको छ ।
उहाँको पक्षमा बहुमत मत प्राप्त भएकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । प्रतिनिधिसभामा कायम २७५ मध्ये आजको बैठकमा २६८ जनाको उपस्थिति रहेको थियो । एक जना सांसदले तटस्थमा मतदान गर्नुभयो ।
विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभामा कायम सदस्यको १३८ मत ल्याउनुपर्ने हुन्छ । प्रधानमन्त्री प्रचण्डलाई सोभन्दा बढी मत प्राप्त भएकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस १० गते नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुँदा पुस २६ गते पहिलो पटक संसद बैठकबाट विश्वासको मत लिनुभएको थियो । सोपछि ६२ दिनमा प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन त्यागी नेपाली काँग्रेससँग २०७९ फागुन १२ गते गठबन्धन गरी पुनः प्रधानमन्त्रीको जिम्मेवारीमा आउनुभएको थियो ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले पुनः २०७९ चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको थियो । अहिले फेरि काँग्रेससँग गठबन्धन त्यागी फागुन २१ गते एमालेसहित दलसँग नयाँ गठबन्धन बनाएर सरकारको जिम्मेवारीमा रहनुभएकाले काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोहीकारण प्रधानमन्त्री प्रचण्डले पुनः बुधबार तेस्रो पटक विश्वासको मत लिनुभएको हो ।
अहिलेको गठबन्धनमा प्रधानमन्त्रीसँग ६ दलको समर्थन रहेको छ । नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एस), नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र ३ सांसदले उहाँलाई पक्षमा विश्वासको मत दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डको विपक्षमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाका सांसदले मत दिनुभयो ।
यसअघि २०७९ पुस २६ गते लिनुभएको विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डले २६८ मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले उहाँको समर्थनमा मत दिएका थिए ।

त्यसैगरी सत्ता गठबन्धन फेरिएपछि दोस्रो पटक चैत ६ गते प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिनुभएको थियो । दोस्रो पटक उहाँले सांसदहरुबाट १७२ मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा ८९ मत परेको थियो ।
प्रतिनिधिसभामा रहेको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोहीकारण प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्