सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले पाँच महिनामा पनि सकेन अनुसन्धान
काठमाडौं, १३ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करी प्रकरणमा अनुसन्धान र कारबाही सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगले पाँच महिनासम्म पनि काम सम्पन्न गरेको छैन् ।
सरकारले १४ असोजमा आयोग गठन गरी तीन महिनाको कार्यावधि दिएको थियो । तर दुई महिना म्याद थप गर्दा समेत आयोगले काम पूरा गरेको छैन् । श्रोतका अनुसार सरकारले फेरि जाँचबुझ आयोगको कार्यावधि थप गर्ने तयारी भइरहेको छ ।
गत साउन २ गते विमानस्थलबाट बरामद भएको ६० किलोग्राम सुन र विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको नौ केजी सुन तस्करी प्रकरणपछि गठित जाँचबुझ आयोगलाई अदालतसरह अधिकार र सुविधा पाउने गरी जिम्मेवारी दिइएको छ ।
सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा नेपाल प्रहरोका पूर्वअतिरिक्त महानिरीक्षक सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजङ्ग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य हुनुहुन्छ ।
आयोगको यसअघि तोकिएको कार्यावधि मंगलबार सकिँदैछ । मंगलबारपछि सरकारले आयोगको थप १५ दिन म्याद थप गर्ने तयारी छ । आवश्यक प्रमाणहरु पुनः परीक्षण गर्नुपर्ने आवश्यकताका कारण अन्तिम प्रतिवेदन तयारीमा ढिलाइ भएको आयोगका संयोजक डिल्लीराज आचार्यले बताउनुभयो । उहाँका अनुसार आयोगले म्याद थपका लागि गृह मन्त्रालयमार्फत म्याद थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिसकेको छ ।
चार वटा समूहले फरक फरक विषयमा प्रतिवेदन लेखेर सकिएको र प्रमाणहरुको पुनःपरीक्षण भइरहेको आयोगले जनाएको छ ।
आयोगले सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा सत्तारुढ दल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालगायत २८ जनासँग कागजी बयान र साढे ३३ केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे सहित ३२ जना प्रतिवादीसँग पुनः बयान लिएको छ ।
गत साउन २ गते राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको साढे ६० किलोग्राम सुन बरामद गरेको थियो । सुन ‘ब्रेक शू’ भित्र लुकाएर ल्याइएको अवस्थामा फेला परेको थियो ।
प्रारम्भमा यही सुन प्रकरणबारे विभाग र पछि सरकारको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । प्रकरणमा राजनीतिकरण भएपछि सुन समातिएको तीन महिनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले पाँच महिनामा पनि सकेन अनुसन्धान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्