चार दिनपछि मेलम्चीको पानी काठमाडौं पुग्ने
काठमाडौं, पुस २७ गते । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौंमा पथान्तरण गरिएको छ ।
यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौंका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौं पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ ।” करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उहाँले बताउनुभयो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौं उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिनुभयो । आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधबार साँझदेखि काठमाडौंका लागि पानी पठाइएको सिनियर डिभिजनल इञ्जिनियर कुँवरले बताउनुभयो ।
उहाँका अनुसार बाढीले क्षति बनाएको संरचना निर्माण गर्न निर्माण व्यवसायीले दैनिक ४५ जनाभन्दा बढी कामदार र आवश्यक मेसिन परिचालन गरेको थियो । खानेपानीमन्त्री महिन्द्रराय यादवले पुस अन्तिमसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणासमेत गर्नुभएको थियो । मेलम्चीको पानी तत्काल काठमाडौँ ल्याउन मन्त्री यादवले तीन पटक स्थलगतरुपमा अनुगमनसमेत गर्नुभएको थियो ।
बाढीका कारण रोकिएको पानी काठमाडौं ल्याउन मन्त्री यादवसहित खानेपानी सचिव सुरेश आचार्य र मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक अन्सारी सक्रियरुपमा लाग्नुभएको मन्त्री यादवका स्वकीय सचिव टङ्क धमलाले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मेलम्चीको पानी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्