काठमाडौँ महानगरको कामबाट सङ्घीय सरकारलाई उत्प्रेरणा मिलेको छ: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
२९औँ काठमाडौँ महानगर दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप स्रोत तथा साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकारसम्पन्न तुल्याउन सरकारले प्रभावकारी काम गर्ने बताउनुभयो ।
नेपालको संविधानले सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन कानुन निर्माण पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।
“सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौँ महानगरपालिकालगायत सबै स्थानीय सरकारलाई बलियो बनाउन नेपाल सरकार दृढ छ ।”
काठमाडौँ देशको राजधानी मात्र नभएर विश्वकै प्राचीनमध्येको एक सांस्कृतिक सहरका रूपमा रहेको जनाउँदै उहाँले विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपानआदिले काठमाडौँलाई खुला सङ्ग्रहालयका रूपमा विश्वमाझ चिनाएको बताउनुभयो । “आदिम वैभवको उचित संरक्षणले काठमाडौँको विशिष्ट वैश्विक पहिचानको जगेर्ना गर्दछ, अर्कोतर्फ पर्यटन प्रवर्द्धनका माध्यमबाट नागरिक जीवनमा सम्पन्नता ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउँछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “काठमाडौँको विकास, सभ्यता र संस्कृतिको संरक्षण र प्रवर्द्धन एवं यहाँको सौन्दर्य देशकै राष्ट्रिय कार्यभार हुनुपर्दछ ।”
पछिल्लो समय काठमाडौँ महानगरले गरेका प्रगतिशील कामलाई आफूले गम्भीरतापूर्वक नियालिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सहरी सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षणमा महानगरको पहलले सङ्घीय सरकारलाई सकारात्मक उत्प्रेरणा पैदा गरेको बताउनुभयो ।
“लागुऔषध, सुर्ती चुरोटलगायत वस्तुमा लगाइएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जनालगायत क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, यसबाट सरकारलाई समेत उत्प्रेरणा मिलिरहेको छ”, उहाँले भन्नुभयो, “यसका निम्ति महानगर प्रमुख, उपप्रमुखलगायत सिङ्गो महानगर परिवारलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत अविचलितरूपमा अगाडि बढ्न अपिल गर्दछु ।”
राजधानी सहरलाई सफा, हरियालीयुक्त, सांस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताले भरिपूर्ण ऐतिहासिक सहरका रूपमा विकास गर्न महानगरको प्रयास प्रशंसनीय रहेको उहाँको भनाइ छ । “काठमाडौँ महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढेर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमूना प्रस्तुत गर्नेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपाल सरकारका तर्फबाट गर्नुपर्ने साथ, सहयोग र निर्णयका निम्ति म सधैँ तत्पर छु ।”
उहाँले सामूहिक सहकार्यको संस्कृतिको जगमा उभिएर सङ्घीय शासन प्रणालीको फराकिलो आधारभूमिमा विकसित काठमाडौँ सहर निर्माणको साझा लक्ष्य हासिल गर्न महानगर दिवसले सबैलाई प्रेरणा देओस् भनी कामनासमेत गर्नुभयो । विसं २०५२ मा तत्कालीन काठमाडौँ नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौँ महानगरको काम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्