Techie IT
बिहीबार, कात्तिक २७,२०८३

नाका नखुल्दा सिप्चेतबासीलाई समस्या, म्याद नाघेको नुन खान बाध्य


गोरखा : उत्तरी गोरखा, चुम्चेतका बासिन्दा नुनको खोजीमा दिन माया मारेर फिलिम, नाग्चेतसम्म धाउन बाध्य छन्। मोटरबाटो नपुगेको सो गाउँका बासिन्दा नुन खोज्ने ध्याउन्नमा झोला बोकेर फिलिम तथा नाग्चेतसम्म धाउने गरेको बताउँछन्।

नाग्चेत पुगेर पनि म्याद नाघेको भानुनुन ल्याउन बाध्य भएको उनीहरू बताउँछन्। ‘नाग्चेतबाट ३० किलो भानु नुन ६६० रुपैयाँमा ल्याएका छौँ’, चुम्चेतको सर्दीभीरमा नुन बोकिरहेको अबस्थामा भेटिएका सिप्चेतका रिञ्जिन लामाले भने, ‘पहिले चाइनाबाट नुन ल्याउँथ्यौँ। अहिले नाका बन्द भयो। तलबाट ल्याउनु परेको छ, जमाना फेरियो। नाका बन्द भएर नुन पाएनौँ, चामल पाएनौँ। जुत्ता पाएनौँ, चिया पाएनौँ। हामी यताका मान्छे खोले, तरकारीमा बोसो हाल्छौँ, बोसो पाएनौँ। मर्चा बनाउने हड्डीहरू पनि ल्याउँथ्यौँ, त्यो पनि पाएनौँ।’

तिब्बतको बजारमा पाइने खालका सामान तल्लो भेगमा नपाइने भएकाले त्यस्ता सामग्रीको अभाव खेपिरहेको उनले बताए। सरकारले ढुवानी अनुदानमा दिएको नुन नाग्चेतबाट आफैले बोकेर ल्याउँदा प्रतिकिलो २२ रुपैयाँ पर्ने, तर गाउँको पसलमा किन्दा धेरै महंगो पर्ने अर्का स्थानीयको भनाइ छ। ‘नाग्चेतमा ३० पोका नुन ६६० रुपैयाँमा पाइन्छ। त्यही नुनलाई गाउँको पसलमा तीन पोकाको पाँचसय रुपैयाँ तिर्नुपर्छ’, नुन बोकिरहेका अर्का स्थानीय तेञ्जिङ दोर्जे लामा भन्छन्, ‘चाइना खुलेको भए आफ्नै याक, चौँरी, घोडामा बोकाएर ल्याउँदा सस्तो पर्थ्यो। तलबाट ल्याउँदा कि आफैले भारी बोकेर ल्याउनु पर्छ, पसलमा महंगोमा किन्नुपर्छ।’


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्