Techie IT
बुधबार, जेठ ६,२०८३

दुर्गा प्रसाईंको पछाडि को छ ?


गणतन्त्र नै फाल्ने फुर्ती लगाउँदै झापाली व्यवसायी दुर्गा प्रसाईंले ‘४० करोड खर्चेर’ काठमाडौंमा ‘लाखौँ मान्छे उतार्ने’ दाबी गरिरहेका छन् । ७ मंसिरमा हुने भनिएको कार्यक्रमका लागि काठमाडौंका सुन्धारा, बागबजार, धुम्बाराहीलगायत क्षेत्रका अधिकांश होटल बुक गरिएका छन् ।

‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ नाम दिइएको कार्यक्रमका लागि प्रसाईंले देशभरबाट काठमाडौंमा लाखौँ मान्छे जम्मा पार्ने दाबी गरेका छन् ।

सोही दिन एमालेको युवा संघले समेत शक्ति प्रदर्शन गर्न लागेकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रमका लागि दुवै पक्षलाई ठाउँ तोकिदिएको छ । दुवैले रोजेको माइतीघर ‘कुरुक्षेत्र’ हुन सक्ने भएकाले प्रशासनले उक्त क्षेत्रमा ३० मंसिरसम्म ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

१ फागुन २०७९ देखि प्रसाईंले ‘नागरिक बचाऊ अभियान’ थालेका थिए । पछिल्लो समय उनीसँग सिङ जुधाउन सिङ्गो एमाले अघि सरेपछि प्रसाईं र उनको अभियानतिर धेरैको नजर परेको छ । झापासहित कतिपय जिल्लामा जनस्तरमा पनि प्रसाईंले राम्रो समर्थन बटुलेको देखिन्छ । जम्माजम्मी ८ महिनामा प्रसाईंले यत्रो शक्ति कसरी आर्जन, सञ्चय गरे ? उनको पछाडि को छ ? धेरैमा यस्तो जिज्ञासा छ ।

०००

नेपालमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्न नसकेका वा तिर्न नचाहने ठूलै जमात प्रसाईंको पक्षमा छ । कुनै बेला गणतन्त्रको विकल्प छैन भन्ने उनी फनक्कै मोडिएर भ्रष्टाचार र गणतान्त्रिक व्यवस्थाविरुद्ध, हिन्दु धर्मको पक्षमा बोलिरहेका छन् । यसरी हिन्दुवादी र वर्तमान नेतृत्वको कार्यशैलीबाट आजित जनता पनि उनका चर्का कुरातिर तानिएका छन् । प्रसाईंको दाबीअनुसार, उनले नेतृत्व गरेको अभियानमा ४ लाख नेपालीले सदस्यता लिएका छन् ।

बैंक, सहकारी र लघुवित्तपीडितलाई लक्षित गरी सुरु गरेको ‘नागरिक बचाऊ’ अभियानलाई प्रसाईंले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाविरोधी ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ मा परिणत गरिसकेका छन् । अर्थात् सुरुमा बैंक तथा वित्तीय संस्थाप्रति उत्तेजित र आक्रोशित देखिएका उनको द्वेष अहिले शासकीय व्यवस्थाप्रति देखिएको छ ।

अभियानमा धर्मसमेत जोडेकाले हिन्दुवादी संघसंगठनले उनलाई अघोषित रूपमा सहयोग गरेको कुरा सामाजिक सञ्जालका पोस्टहरू हेर्दा अनुमान लगाउन गाह्रो पर्दैन । निधारभरि चन्दनको रेखा कोरेका कतिपय गेरुवस्त्रधारी ‘बाबा’हरूले ७ मंसिरमा दुर्गा प्रसाईंको अभियानमा जान आफ्ना ‘भक्त’हरूलाई आह्वान गरिरहेका छन् ।

राजावादीहरू भने आफैँ छिन्नभिन्नजस्तै रहेकाले प्रसाईंको अभियानबारे विभाजित छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समेत प्रसाईंलाई साथ दिएका छैनन् । निकटस्थ स्रोतका अनुसार, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि प्रसाईंलाई पूर्ण विश्वास गरेका छैनन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्