२४ कात्तिक, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को लागि परीक्षा आवेदन खुला गरेको छ ।
कार्यालयले २०८० मा हुने एसइइको लागि कक्षा १० मा अध्ययनतरत नियमित (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेत) ले शुक्रबार (२४ कात्तिक) देखि मंसिर मसान्त भित्र फारम भर्नुपर्नेछ
मंसिर मसान्तभित्र फारम भर्न छुटेका विद्यार्थीले विलम्ब शुल्कसहित १५ पुषभित्र फारम भर्न भराउन सकिने कार्यालयले जानकारी दिएको छ । फारमको लागि आवश्यक कागजात सहित नियमित तर्फ पाँच सय र विलम्ब तर्फ एक हजार शुल्क तिर्नुपर्नेछ ।
आगामी वर्षको एसइइका लागि रजिष्ट्रेसन भर्नुपर्ने
परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले आगामी वर्ष एसइइमा समावेश हुनका लागि रजिष्ट्रेसन फारमको आवेदन खुला गरेको छ ।
कार्यालयले शैक्षिक वर्ष २०८१ म एसइइमा सहभागी हुनको लागि कक्षा ९ मा साधारण, परम्परागत (संस्कृत, वेदविद्याश्रम, गुरुकुल, मदर्सा, गोन्पा) र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीले मंसिर मसान्तभित्र फारम भर्न भराउन सूचित गरेको छ ।
कक्षा ९ मा अध्ययनरत नियमित विद्यार्थीले अङ्काङ्कन पद्धतिमा कक्षा ८ वा सो सरहको वार्षिक परीक्षा उत्तीर्ण भएको हुनुपर्नेछ ।
साथै अक्षराङ्कन पद्धति (२०७२-२०७७) का हकमा अनिवार्य विषयहरुमा न्यूनतम डी प्लस ग्रेड र २०७८ र २०७९ सालमा न्यूनतम ग्रेड डी प्राप्त गरेको ग्रेडसिछ र जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि (प्रधानाध्यापकबाट प्रमाणित) अनिवार्य छ । विद्यार्थीले विलम्ब शुल्क सहित १५ गतेसम्म रजिष्ट्रेसन फारम भर्न सक्नेछन् ।






तपाईको कमेन्ट लेख्नुहोस्