Techie IT
बिहीबार, कात्तिक २७,२०८३

हङकङ पुग्यो दुई क्विन्टल फूल


भरतपुर,२४ कात्तिक । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका–२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो ।

तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए। ‘आठ सय वटा सयपत्री र पाँच सय वटा मखमली फूलका माला पठाएका छौँ । मालाबाहेक सयपत्री फूलको थुङ्गासमेत दुई क्विन्टल निर्यात गरेका छौँ ।’ बास्तोलाले भने, ‘चितवनबाट व्यावसायिक रुपमा फूल विदेश निर्यात भएको पहिलोपटक हो ।’ उनका अनुसार तीन लाख रुपैयाँ बराबरको माला निर्यात भएको छ ।
अन्य मुलुकबाट पनि सयपत्री फूलको माग आएको जानकारी दिँदै बास्तोला भन्छन् ‘अहिले हङकङ निर्यात गरेका छौँ’ अब अन्य देशमा पनि सयपत्री फूल र माला निर्यात गर्नेछौँ ।’

विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा हाल विदेशमा पठाएको किसान अमित बास्तोलाको भनाई छ । ‘हामीले गत वर्षदेखि बाह्र महिना नै फूल खेती गर्छौँ । माघमा उत्पादन हुने गरी १० कठ्ठामा लगाएका छौँ’ उनले भने , ‘चितवनमा फूल खेतीको सम्भावना राम्रो छ ।’
तीन भाइले तिहार लक्षित सयपत्री फूल तीन बिघामा खेती गरेका थिए । फूल खेतीबाट यसवर्ष बाह्र हजार माला र आठ क्विन्टल फूलको थुङ्गा उत्पादन हुने उनीहरुको अनुमान छ । यसबाट १५ लाख रुपैयाँ आम्दानी हुने अमितको भनाई छ । कोरोना माहामारीपछि फूल खेती सुरु गरेका तीन दाजुभाइले जग्गा भाडामा लिएर खेती गरेका हुन् ।

भारतको कलकत्ताबाट एक लाख रुपैयाँ बराबरको बीउ ल्याएर तीन बिघामा खेती सुरु गरेका उनीहरुले सयपत्रीका दुई जात टेनिसबल र कलकतीया फूल हङकङ निर्यात गरेका हुन् । कात्तिक २४ गते राति काठमाडौँबाट जहाजमार्फत हङकङ लगिने सप्लायर्स कमल सुवेदीले जानकारी दिए । हङकङमा बस्ने नेपाली समुदायबाट सयपत्री फूलको माग आएकाले लैजान लागिएको उनले जानकारी दिए ।

फूल निर्यात गर्दा खासै फाइदा नहुने भए पनि किसानको प्रोत्साहन गर्नका लागि निर्यात गरिएको उनको भनाइ छ । चितवनमा यसवर्ष तिहारको समयमा फूल खेती गर्ने किसान बढेका छन् । कालिका नगरपालिकाले किसानको प्रोत्साहनका लागि बिरुवामा अनुदान समेत दिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #फूल


तपाईको कमेन्ट लेख्नुहोस्