भूकम्पपीडित अपाङ्गता भएकाहरूको मागः हामीलाई प्राथमिकता दिइयोस्
रुकुम आठबिसकोट नगरपालिका–१३ सोताका भरत जङ्ग दृष्टिविहीन छन् । श्रीमती पनि शारीरिक अपाङ्गता छिन् । गाउँमै जसोतसो सानो घर बनाएर बस्ने जोहो गरेका भरतको घर यही कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त बनायो । घर भत्के पनि धन्नले ज्यान जोगाउन सफल भएका उनका दम्पति अहिले राहातको पर्खाइमा छन् ।
सरकारले राहत वितरण सुरु गरे पनि उनीहरूले राहतको नाममा एउटा त्रिपाल मात्रै पाए । ‘घरमा खाने अन्न पनि छैन । घर पनि भूकम्पले ध्वस्त बनायो । आफैँ अपाङ्ग छौँ,’ भरत दुखेसो पोख्छन्, ‘सरकारले यस्तो बेलामा हामीजस्ता अपाङ्गता भएका व्यक्तिहरू जो भूकम्पपीडित भएका छौँ, उनीहरूलाई पहिलो प्राथमिकता राखेर राहत दिनुपर्ने हो तर त्यसो हुन सकेको छैन ।’
‘हरेक क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच पुग्न नसकेको र भूकम्पका कारण अझै पीडित बन्नुपरेको छ’, उनी भन्छन्, ‘अपाङ्गता भएका व्यक्तिहरूको पहुँच हरेक क्षेत्रमा कमजोर छ । अझै यो भूकम्पका कारण पीडित बनेका हामीजस्ता अन्य व्यक्ति पहुँच नपुगेरै त होला राहत पाउन सकेका छैनन् ।’
रुकुमपश्चिम त्रिवेणी गाउँपालिका–१ कल्लेरीका डिलसरा बोहोरा खड्का पनि राम्रोसँग हिँड्डुल गर्न सक्दिनन् । उनको घर भूकम्पले भत्कायो । भूकम्पका बेला घरमाथिबाट श्रीमानश्रीमती हाम फाल्दा श्रीमान् सामान्य घाइते भए । उनको ढाडमा चोट लागेको छ । छिनभरमै घरबारविहीन बनेकी डिलसराको परिवार अहिले खुल्ला आकासमुनि बस्दै आएको छ । अहिलेसम्म सहयोगका लागि कोही पनि नआएकाले वडाध्यक्षलाई फोन गरेर राहतको पहल गरिदिनको अनुरोध गरे पनि उनले राहत पाएकी छैनन् ।
‘घर भत्कियो, अहिलेसम्म के कति क्षति भयो भनेर कसैले वास्ता नगरेपछि वडाध्यक्षलाई राहतको लागि पहल गरिदिन फोन गरिरहेको छु,’ उनी भन्छिन्, ‘सबैभन्दा पहिले भूकम्पमा परेका हामीजस्ता अपाङ्गता भएका व्यक्तिहरू के कति छन् खोज्नुपर्यो अनि सरकारले पहिलो प्राथमिकतामा राखेर राहत दिनुपर्छ ।’
जाजरकोट भेरी नगरपालिका–३ का लोकेन्द्र कार्कीमा हेमोफिलियासम्बन्धी अपाङ्गता छ । उनी कात्तिक १७ गते टीभी हेर्दै थिए । भूकम्प आएपछि घरको छतले उनी पुरिए । लामो समयपछि लोकेन्द्रको उद्धार भयो । घाइते भएका उनी अहिले बाँकेको भेरी अस्पतालमा उपचार गराइरहेका छन् । लोकेन्द्रको परिवार पनि अहिले घरबारविहीन भएको छ ।
‘सरकारले यस्तो विपद्को बेलामा हामीजस्ता अपाङ्गता भएका व्यक्तिहरूलाई ध्यान दिनुपर्छ । उनीहरू यस्तो बेलामा धेरै पीडामा परेका हुन्छन् । राहत सामग्री पनि पहिलो प्राथमिकतामा राखेर दिनुपर्छ । तर त्यसो भएको देखिँदैन । कति अपाङ्गता भएका व्यक्तिहरू अहिले झन् पीडित छन् त्यसको यकिन डाटा पनि सङ्कलन भएको छैन,’ लोकेन्द्र भन्छन् ।
बाढी, पहिरो र भूकम्पजस्ता विपद्का बेला अपाङ्गता भएका व्यक्तिहरू झनै जोखिममा हुन्छन् । पहुँचयुक्त संरचना नहुँदा उनीहरूको त्यो समस्या अझ बढ्छ । यस्तो बेलामा पहिलो प्राथमिकता राखेर सरकारले राहत र पुनःस्थापनाको काम गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।
अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका जितलाल ढकाल भूकम्पका कारण समस्यामा परेका अपाङ्गता भएका व्यक्तिहरूको यकिन तथ्याङ्क सङ्कलन नगरिएको बताउँछन् ।
उनी भन्छन्, ‘भूकम्पले कति जनधनको क्षति गर्यो यस्तो बेलामा अपाङ्गता भएका व्यक्तिहरू अझै कति पीडित हुनुहुन्छ । तर, सरकारले कति व्यक्ति घाइते भए, कति अपाङ्गता भएका व्यक्तिहरू घरबारविहीन भए भनेर कुनै तथ्याङ्क ल्याएको छैन, यो दुःखद हो । सबै व्यक्तिलाई एउटै डालोमा हालेर राहत र पुनःस्थापनाको काम गर्दा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्न नसक्ने चिन्ता रहेको छ ।’
सरकारले भने कोही कसैलाई पनि पहुँचबाट टाढा नराख्नेगरी एकद्वार प्रणालीबाट राहत र पुनःस्थापनाको काम गरिने बताउँदै आएको छ ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी अपाङ्गता भएका तीन व्यक्ति घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ । जाजरकोटको जम्मा जनसङ्ख्याको पाँच र रुकुम पश्चिममा चार प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्याङ्क छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्