Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

चिकित्सक कुटपिटको विरोधमा पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प


चिकित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरूले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै आवासीय चिकित्सकहरू नै विरोध प्रदर्शनमा उत्रिएपछि अस्पतालको आकस्मिकबाहेकका सबै सेवा ठप्प भएको हो ।

प्रचलित कानुनबमोजिम चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कारबाही नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने चिकित्सक डा. दिक्षान्त आचार्यले चेतावनी दिए ।

‘२०८० कात्तिक १८ गते शनिबार पाटन अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा दुई जना बिरामीहरूको मृत्युपश्चात आफ्नो कर्तव्य पूरा गर्दागर्दै ड्युटीमा खटिएका डाक्टरसाबहरू हुनुहुन्थ्यो । र, नर्सहरू हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँहरूलाई त्यो बेलामा कुटपिट तथा गालीगलौज, ज्यानको धम्की र एक छिनसम्म त्यहाँ बन्धक बनाएर जुन राखिएका थियो । त्यसको विरोधमा हाम्रो प्रचलित ऐन अनुसार किन कारबाही भएन, किन कारबाहीको कार्य अगाडि बढिरहेको छैन ?’

उनले चिकित्सकलाई बन्धक बनाउने, कुटपिट गर्नेलाई कारबाही नभएको भन्दै सरकार र प्रहरी प्रशासनप्रति आक्रोश व्यक्त गरे ।

‘कुटपिट गरेर बन्धक बनाएपछि कुटपिट गर्ने पिडक पक्षहरूलाई किन अहिलेसम्म कारबाही भइराखेको छैन, किन समातिएन ? त्यही बेला किन समातिएन ?’ उनले भने, ‘यसैकारण हामी आन्दोलित छौँ । हामीले गल्ती नगरिकन गल्ती गरेको भन्ने जस्ता शब्दहरू, लापरबाही गरेको भन्ने जस्ता शब्दहरू प्रयोग नगर्नुस् भनेको हो ।’

चिकित्सकहरुमाथि कुटपिट गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउनुपर्छ भन्ने आफूहरूको माग रहेको उनले बताए ।

सो अस्पतालमा १८ कात्तिकमा ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि कुटपिट गरी बन्धक बनाएको आन्दोलनरत चिकित्सकहरूको भनाइ छ । चिकित्सकमाथि कुटपिट गर्ने कार्यमा संलग्नहरूलाई सरकारले कारबाही नगरेसम्म आफूहरूको आन्दोलन नरोकिने उनीहरूले बताएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्