विकास आयोजनामा बाधा सिर्जना गर्ने कार्य मान्य हुँदैन : उपप्रधानमन्त्री
काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको आर्थिक समृद्धिसँगै जनताको आकाङ्क्षा सम्बोधन गर्नका लागि काम गर्ने तौरतरिकामा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
रक्षा मन्त्रालयमा आज आयोजित प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले समस्यालाई चाङ लगाएर राख्नेभन्दा पनि तत्कालै समाधान गरेर जानुपर्ने बताउनुभयो ।
“जानीजानी, थाहा पाएर वा कसैका कारण मुलुकको प्रगतिको बाधक हामी सबै भएका छौँ, उन्नति, प्रगतिका लागि कानुनको प्रावधान देखाएर बाधा सिर्जना गर्ने कार्य मान्य हुँदैन”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “यसमा सुधार गर्न आवश्यक छ ।” उहाँले समस्या मात्र प्रस्तुत गर्ने नभई समस्याका कारण र समाधानको उपायसमेत प्रस्तुत गर्न निर्देशन दिनुभयो । “समस्याको कारण प्रष्टरुपमा आउनुपर्छ । विकास आयोजनामा देखिएका समस्या समाधान गर्न विकास समस्या समाधान समितिको बैठक नै कुर्ने परम्पराको अन्त्य गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
मुलुकको समृद्धिमा बाधा सिर्जना गर्ने ऐन कानुन संशोधन गर्न अध्यादेश ल्याइने उपप्रधानमन्त्री खड्काको भनाइ छ । मुलुकका साथै नेपाली सेनाको प्रतिष्ठासँग जोडिएको काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्धारित मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उहाँले विसं २०८३ चैतसम्म निर्माण सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।
“आजको समस्या आजै थाहा पाउने र समाधान गर्दै जानुपर्छ । यसका लागि कहीँकतै समय टार्ने अवस्था हुनुहुँदैन”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो । नेपाली सेनाले जिम्मा लिएको आयोजनालाई निर्धारित मितिमै सम्पन्न गर्न ठेकेदारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिँदै उहाँले ठेकेदारले कुनै पनि बहानामा काम नगरेको अवस्थामा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिनुभयो । “आयोजनाको गुणस्तरमा कमी हुन हुँदैन । गुणस्तरमा कुनै पनि हालतमा सम्झौता गर्न हुँदैन । नेपाली सेनाले लोभ । डर नराखी काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष डा रामकुमार फुयाँलले मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि संरचनात्मक सुधार गर्नुपर्नेमा जोड दिँदै संरचनात्मक रुपान्तरणका लागि आयोग लागि परेको जानकारी दिनुभयो । एकद्वार प्रणालीबाट विकास आयोजनाका समस्या समाधान गर्ने गरी आयोगले गृहकार्य गरिरहेको उहाँको भनाइ छ ।
प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या जतिसक्दो छिटो समाधान गर्नुपर्ने उल्लेख गर्दै त्यस्ता आयोजनालाई विशेष प्राथमिकता दिइनुपर्ने बताउनुभयो । नेपाली सेनाले संविधान, ऐन र कानुनको परिधिभित्र रहेर तोकिएको जिम्मेवारी पूरा गर्दै आइरहेको जानकारी दिँदै उहाँले प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न दत्तचित्त भएर लागिरहेको बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका लागि विशेष कानून निर्माण गरिनुपर्ने बताउनुभयो । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि विशेष राजनीतिक निर्णय गरेर जान उपयुक्त हुने बताउनुभयो । रासस
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्