नयाँ चुनौतीको उदयसँगै नागरिकको संवेदनशीलता बढेको छ : रक्षामन्त्री
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ चुनौतीको उदयसँगै विश्वव्यापी रूपमा नागरिकको संवेदनशीलता बढेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घ दिवसका अवसर नेपाली सेनाले आज यहाँ आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल संयुक्त राष्ट्रसङ्घको बडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाको विश्वास र वैधता कायम राख्न नयाँ र जटिल चुनौतीबीच कसरी शान्ति सुनिश्चित गर्ने भन्ने विषयमा पुनः विचार गर्न आवश्यक देखिएको धारणा व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसङ्घ दिवस, २०२३ को अवसरमा ‘शान्ति म बाट सुरु हुन्छ’ भन्ने नाराका साथ आयोजित समारोहमा उहाँले संयुक्त राष्ट्रसङ्घको बडापत्रको आदर्श र विश्व शान्तिको उद्देश्यप्रति नेपालको प्रतिबद्धताबारे स्मरण गराउनुभयो ।
“संयुक्त राष्ट्रसङ्घको बडापत्र नेपालको परराष्ट्र नीतिको एउटा मार्गदर्शक सिद्धान्त हो”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति र समानताका लागि सदैव जोड दिँदै आएको छ । नेपाल सधैँ विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध छ ।” निःशस्त्रीकरण तथा विश्वशान्तिलाई बढावा दिने र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्ने अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा हाम्रा प्रतिबद्धता अभिव्यक्त भएको उल्लेख गर्दै उहाँले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनाका लागि शान्ति सेनाले निरन्तर खटेर योगदान गरिरहेको बताउनुभयो ।
उपप्रधानमन्त्री खड्काले राष्ट्रसङ्घले विश्वको शान्ति, प्रगति र समृद्धिका लागि अथक प्रयास गर्दै आएको कुरा नेपालले सदैव स्वीकार गरेको बताउनुभयो । “संयुक्त राष्ट्रसङ्घअन्तर्गत रही विश्व शान्ति स्थापना गर्ने कार्यमा नेपाल सहभागी भएको ६५ वर्ष पूरा भएको छ । हामी माथिको यो विश्वासका लागि हामी राष्ट्रसङ्घलाई धन्यवाद दिन चाहन्छौँ”, उहाँले भन्नुभयो ।
हाल नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा सेना पठाउने मुलुकमध्ये शीर्ष दोस्रो स्थानमा छ । उपप्रधानमन्त्री खड्काले राष्ट्रसङ्घको आह्वानमा शान्ति कार्यमा दस हजारसम्म तालिम प्राप्त शान्ति सेनालाई परिचालन गर्न सकिने प्रतिबद्धता रहिआएको उल्लेख गर्नुभयो । राष्ट्रसङ्घका महासचिवको लैङ्गिक समानता रणनीतिअनुरूप नेपालले तोकिएका मापदण्ड पूरा गरी सक्षम महिलालाई शान्ति सेनामा पठाउन हरसम्भव प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #पूर्णबहादुर खड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्