इजरायलबाट ५ नेपालीको शव तीन दिनभित्र नेपाल पठाइने
तेलअभिभ — दक्षिण इजरायलको किबुज अलुमिममा असोज २० मा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीमध्ये ५ जनाको शव पहिचान हुन अझै बाँकी छ । पाँच शवको भने गत आइतबार नै पहिचान खुलेको थियो । ती शव स्वदेश पठाउने प्रक्रिया भने अगाडि बढाइसकिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
इजरायलबाट ५ नेपालीको शव तीन दिनभित्र नेपाल पठाइने
दूतावासका अनुसार तीन दिनभित्र ती शवहरू नेपाल पठाइनेछ । मृतक घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी र लेकम–५ दार्चुलाका दीपेशराज बिष्टका शव पहिचान भएको हो ।
हमासको आक्रमणमा मारिएका सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र शारदा–३ सल्यानका प्रवेश भण्डारीको शव पहिचान हुन बाँकी रहेको नेपाली दूतावासले जनाएको छ ।
इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार पहिचान भएका शव छिटो नेपाल पठाउन र अन्य शवको पहिचान गर्न एक जना इजरायली नागरिकलाई खटाइएको छ । ‘पहिचान भएका शव छिटो नेपाल पठाउन र अन्य शव पहिचान गर्न स्थानीय एक जनालाई खटाएका छौं,’ उनले भनिन्, ‘तिनले शवको व्यवस्थापन गर्ने र पहिचान गर्ने निकायसँग समन्वय गरिरहेका छन् ।’ प्रतिनिधिसभाको संसदीय समितिले इजरायलमा मृत्यु भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।
हमासको आक्रमणपछि बेपत्ता बनाइएका कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूह हमासले आफूसँगै लगेको थियो । हमासले अपहरण गरी बन्धक बनाइएकाहरू १ सय १९ जना रहेको इजरायली सेनाले बताएको छ । आक्रमणमा घाइते भएका ४ नेपालीमध्ये २ जना उपचाररत छन् । अर्का एक घाइते उपचारपछि डिस्चार्ज भएर नेपाल फर्किसकेका छन् । अर्का एक जनाको भने नेपाली दूतावासले आफ्नै निगरानी तथा हेरचाहमा राखेको छ । सरकारले असोज २६ मा इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरेको थियो ।
त्यस्तै इजरायलबाट थप १८ नेपाली नागरिकको मंगलबार उद्धार गरिएको छ । भारत सरकारको सहयोगमा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाटै नेपाली नागरिकको पनि उद्धार गरिएको हो ।
इजरायलमा ४ हजार ५ सयभन्दा बढी नेपाली कार्यरत छन् । नेपाल सरकारले अवस्थामा परिवर्तन नआउन्जेलसम्म इजरायल जान रोक लगाएको छ । एड्भाइजरी नै जारी गरेर इजरायल भ्रमणमा जान रोक लगाइएको हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्