Techie IT
बिहीबार, कात्तिक २७,२०८३

इजरायलमा फसेका विद्यार्थीको उद्धारको माग गर्दै चितवनमा प्रदर्शन


चितवन । इजरायलमा फसेका नेपाली विद्यार्थीहरुको उद्धारको माग गर्दै चितवनमा विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् ।

पूर्वी चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसका संयुक्त विद्यार्थी संगठनहरुको आयोजनामा सोमबार साँझ पर्सा बजारको चौबिसकोठी चोकमा प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले ‘सास र लास दुवै फर्काइ देउँ’, ‘ए सरकार कृषिलाई सपार्छस् कि कृषिकै नाउँमा नै मार्छस्’, ‘अझै कति दिन बंकरमा बस्ने रु’ लगायत प्रश्न लेखिएको प्ले कार्डसहित विद्यार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

यस्तै प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी निधन भएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वल समेत गरिएको छ ।

विद्यार्थीहरुको निधन प्रति दुःख प्रकट गर्दै दीप प्रज्वलन गर्नुको साथै सरकारलाई झकझकाउन शान्ति पूर्ण प्रदर्शन गरिएको प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आशिष देवकोटाले जानकारी दिए । हमासले शनिबार गरेको आक्रमणमा परी इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत १० विद्यार्थीको मृत्यु भएको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालय चितवनबाट गएका विद्यार्थीहरु भने सकुशल छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्