माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता
मलेखु (धादिङ) I माछामा खानै नमिल्ने रङ्ग मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटेल व्यवसायीले अखाद्य रङ्गको प्रयोग हटाउन थालेका छन् ।
गजुरी गाउँपालिका–२स्थित मलेखुको मजुवा बजारका होटेल तथा माछा पसलेहरूले अब आइन्दा माछा तथा अन्य खानामा रङ्गको प्रयोग नगर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
‘कालो देखिएको रङ्ग प्रयोग नगरिएको फ्रेस माछा हो’, व्यवसायी जीवन अधिकारीले भन्नुभयो–“रङ्ग दलेर रातो आकर्षक बनाइएका कहिकतै देख्नुभयो भने पनि नखानुहोला । किनकि त्यसमा पकाएर खानै नमिल्ने अखाद्य वस्तुको मिसावट हुनसक्छ ।”
त्यस्ता आकर्षक बनाएर राखिएका माछामा अखाद्य वस्तु मिसावट हुने पुष्टि भएपछि स्थानीय होटेल व्यवसायी र माछा व्यवसायीले अबदेखि त्यस्ता रङ्गको प्रयोग ठप्पै पार्ने अभियान थालिसकेका छन् । अनुगमनकारी निकायहरूलाई नै साक्षी राखेर व्यवसायीहरूले अज्ञानताका कारण माछा राम्रो देखाउन रङ्गको प्रयोग गरेको र त्यसले मानव स्वास्थ्यमा पर्ने असर थाहा भएपछि आफूहरूले सचेत भएर रङ्गको प्रयोग हटाउने अभियान थालिएको उहाँको भनाइ थियो ।
मजुवा बजारमा ४५ वटा माछा बिक्री गर्ने होटेल तथा पसल छन् । सबै व्यवसायीहरूले रङ्ग हटाउने सामूहिक निर्णय नै गरेका छन् ।मूल्यमा पनि एकरूपता कायम गर्ने र अटेर गरी राज्यले तोकेको मापदण्ड विपरीत रङ्ग प्रयोग तथा अन्य काम गर्नेहरूलाई व्यवसायीहरू आफैले पनि कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् ।
माछा व्यवसायीले सामूहिक प्रतिबद्धता गरेर सधैँका लागि रङ्गको प्रयोग हटाउने निर्णय गरेसँगै नियामक निकाय पनि सकारात्मक बनेको छ । व्यवसायीहरूले बुझाएको प्रतिवद्धतापत्र बुझ्दै जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले व्यवसायीहरूले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको पाइए आगामी दिनमा कानुनअनुसार कडा कारबाही गरिने बताउनुभयो ।
‘रङ्ग दलेर आकर्षक बनाउने चलन नआउँदै पनि मलेखुको माछा वर्षौँदेखि देशभर प्रख्यात थियो । सबैले मिठो मानेर खान्थे । रङ्ग मिसाएर रातो बनाउन थालेपछि पनि स्वाद फेरिएको थिएन’, होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण सिलवालले भन्नुभयो–‘वर्षौँदेखि प्रख्यात रहेको मलेखुको माछामा राम्रो देखाउनकै लागि हानिकारक रङ्ग मिसावट गरेको खबरले देश विदेशमा समेत मलेखुकै नाम बदनाम भएकोप्रति व्यवसायी दुखित बनेका छन्’, उहाँले भन्नुभयो ।
माछाका थरथरी परिकार पकाएर चाख्दा चाख्दै उपभोक्ताभन्दा जोखिममा व्यवसायी नै परिरहेको थाहा पाएपछि ती व्यवसायीले रङ्ग नमिसाउने सामूहिक प्रतिबद्धता गरे पनि पेट्रोलपम्प क्षेत्रका व्यवसायीले भने सामूहिक प्रतिबद्धता गर्न सकेका छैनन् । फुर्केखोला क्षेत्रका व्यवसायीले झनै अटेर गरिरहेको उपभोक्ताहरूको गुनासो छ ।
अखाद्य वस्तुको मिसावट चटक्कै छोडेर सफा र मिसावटरहित माछा बिक्री वितरण गर्न सके मलेखुको माछा बजार पहिलेजस्तै प्रख्यात बन्नेछ र व्यवसायले पनि पुरानै गति लिनेछ
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्