Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

गीतका माध्यमबाट देवीचौरमा स्वास्थ्य र पोषणका बारेमा जनचेतना


ललितपुर । भदौ २९ गते खानुपर्छ स्वस्थकर खाना यति कुरा बुझ्दिनुस सबजना स्वस्थ जीवन नफाल खेर धन भनेको स्वास्थ्य नै हो हेर । देवीचौरमा यो गीत घन्कँदा वडाध्यक्ष र वडा सदस्यहरू निकै उत्साही देखिन्थे ।

ग्रामीण सामुदायिक संस्था विकास रिकोड ले भदौ २९ गते देवीचौर स्वास्थ्यचौकी सँगको सहकार्यमा आयोजना गरेको जनजचेतनामूलक कार्यक्रममा मादलको तालमा घन्किएको गीत हो यो ।

गर्भ जाँच, संस्थागत सुत्केरी, सुत्केरी जाँच र वर्द्धि अनुगमनका विषयलाई पोषणसँग जोडेर जनचेतना अभिवर्द्धि गर्ने उद्धेश्यले आयोजित जनचेतनामूलक कार्यक्रममा देवीचौरका नौ जना स्वयम्सेविका, आमा समूहका प्रतिनिधि, वडा कार्यालय र स्वास्थ्य संस्थाका प्रतिनिधिलगायत स्थानीय महिलाको उपस्थितिमा मादलको तालमा जनचेतनामूलक गीत घन्कँदा २-३ घण्टा बुरुञ्चुली जूरुक्कै उठेको थियो ।

अस्पतालमा सुत्केरी गराउँ मातृ शिशु मृत्युदर घटाउँ ६ महिनामा आमाको दुध मात्रै त्यसपछि थप खाना प्रशस्तै ! यस्ता गीतका टुक्कामा मादलको ताल मिलाउँदा स्वयम्सेविका र आमा समूहका प्रतिनिधि छमछमी नाचेका थिए । ‘यि गीतका टुक्का मात्रै होइनन् ।

सन्देश हुन् ।’-वडाध्यक्ष मथुरा प्रसाद शर्माले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने । उनले स्वास्थ्यलाई सुधार्न र पोषणको महत्व बुझाउन रिकोडले विभिन्न माध्यम र कार्यक्रमबाट देवीचौरबासीलाई सचेत गराउँदै आएको बताए । हराभरा करेसाबारी खानुपर्छ हरियो तरकारी भनेका छौँ हामीले सदाबहार हाम्रो खाना हरेक बार खाना चार ! रिकोडकी देवीचौर समुदाय सहजकर्ता गीता तिमल्सिनाले शक्ति दिने, सुरक्षा गर्ने, वृद्धि गर्ने र विकास गर्ने खानेकुरा हरेक दिन खानुपर्ने विषयमा हरेक कार्यक्रममा जानकारी दिने गरेको बताइन् ।

उनले भनिन्-‘समूहको बैठक होस् वा सार्वजनिक कार्यक्रम होस् पोषण र स्वास्थ्यका विषयमा अनिवार्य छलफल चलाउने गरेका छौँ ।’ खानुपर्छ गर्भिणी आमाले स्वस्थ बच्चा पोषिलो खानाले बच्चा सधैँ जोखेर नापौँ है यसको महत्व सबैले थाहा पाउँ है ! स्वास्थ्यचौकीका इञ्चार्ज हस्तबहादुर कठायतले घरघरमा गएर बुझाउनुभन्दा गीतका माध्यमबाट बुझाउन निकै सजिलो हुने बताए ।

उनले यहाँका महिला घाँसपात गर्दा गीत गगुनगुनाउने र गीत सुन्दा टपक्कै टिप्ने गरेको हुँदा पनि गीतका माध्यमबाट प्रशारित सन्देश ओजिलो हुने बताए । १ सय जनाको सहभागितामा सञ्चालित कार्यक्रममा भिमसेन आदर्श माविका शिक्षक तथा विद्यार्थीसमेत सहभागी भएका थिए ।

रिकोडले देवीचौरमा सन् २०२२ को अप्रिलदेखि खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना लागु गरेको छ ।

सो परियोजनमार्फत महिला शसक्तिकरण र पोषण सुधारका क्षेत्रमा आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले जानकारी दिइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #ग्रामीण सामुदायिक संस्था विकास रिकोड


तपाईको कमेन्ट लेख्नुहोस्