युवा कवि मोतीराम भट्ट र नेपाली साहित्यमा उनको योगदान
हुतमणि अधिकारी बि सं १९२३ भाद्र कृष्ण अमाबस्याका दिन दयाराम भट्ट र रिपुमर्दिनी देवीका पुत्र रत्नका रुपमा काठमाडौं भोंसीको टोलमा जन्मिएका मोतीराम भट्ट नेपाली साहित्यको माध्यमिक कालका निर्माता मानिन्छन् । बि सं १९५३ भाद्र कृष्ण अमावस्याको दिन ३० बर्षको उमेरमा परमधाम गएका मोतीरामले नेपाली भाषा , साहित्य र वाङमयको अतुलनीय सेवा गरि राष्ट्रिय विभुतिको सम्मान प्राप्त गर्न सकेका छन् । यसबाट पनि नेपाली वाङमय उपर उनलेे दिएको योगदानको अनुमान गर्न सकिन्छ । सानै उमेर देखि बनारसमा बसेर त्यहीँको शिक्षा पाएका भए पनि मोतीराम भट्टमा नेपाली भाषा साहित्य र राष्ट्रियता प्रति अगाध ममता र प्रेम थियो । भर्खरको तन्नेरी भएर पनि मोतीराम बिदेशको झिलिमिली , रामरमिता र भोग विलास प्रति कहिल्यै आकर्षित भएनन्।
केही नयाँ कुरा देखे, सुने र जाने भने आफ्नो देशको परिप्रेक्ष्यमा हेरी त्यसलाई देशको हितमा उपयोग गर्न तिर तुरुन्त पाइला चालिहाल्थे । तिनताका हिन्दी भाषा साहित्यको उत्थानका निम्ति भारतेन्दु हरिश्चन्द्रले गरेका कार्यहरुको प्रेरणाले मोतीराम पनि नेपाली साहित्यको उत्थानका लागि दिलोज्यान दिएर लागि परेका थिए भनेर मानिन्छ । मोतीराम आफू मात्र कविता लेखेनन्, आफू मात्र अघि बढ्न खोजेनन् – साथी भाइहरुलाइ पनि साहित्य सिर्जनाका लागि प्रेरित गरे, उत्साहित पारे । लिखित रचना र कृतिहरुलाइ प्रकाशित गरेर सर्जकहरुलाइ उत्साहित तुल्याए , हौसला बढाए । उनीहरूमा भएका प्रतिभाको सम्मान गरि नेपाली साहित्यको फाँटलाइ हराभरा र उर्वर तुल्याइदिए । तत्कालीन समयमा मोतीरामले नेपाली साहित्य र वाङमयका लागि गरेका योगदानलाई बुँदामा यसरी उल्लेख गर्न सकिन्छ ।
१. सर्वप्रथम उनले भानुभक्तका कृतिहरुको खोजी गरि उनको जीवनी र रचनाहरुलाइ छपाएर प्रचारप्रसार गराए । भानुभक्तको रामायण र भानुभक्तलाई नेपाली साहित्यमा आजको विशिष्ट स्थान दिलाउन काम यिनै मोतीरामले गरेका हुन्। यस सन्दर्भमा मोतीले नचम्काएका भए भानु नजाने कति काल सम्म बादलको अँध्यारोमा हराइरहेका हुने थिए भनेर पनि भन्ने गरिन्छ ।
२. नेपालमा पहिलोपटक निजी छापाखाना खोल्ने , पुस्तकालय स्थापना गर्ने श्रेय पनि मोतीरामलाई नै प्राप्त छ। यिनले नै नेपाली साहित्यलाई छापाखाना युगमा प्रवेश गराएका हुन् । बिदेशमा नेपालको पहिलो साहित्यिक पत्रिका ” गोरखा भारत जीवन ” मोतीराम भट्टले रामकृष्ण वर्मा संग मिलेर निकालेका हुन् ।
३. साहित्यको उत्थानका निम्ति सामुहिक प्रयत्न गर्ने गराउने सिलसिलामा समकालीन साथी संगातिहरुलाइ ” समस्या पूर्ति ” दिएर कविता लेख्न लगाए । कुनै पद, वाक्यांश वा वाक्यलाइ समस्याको रुपमा दिएर त्यसैको वारम्वार प्रयोग गरि कविता लेख्ने संस्कृत साहित्यमा बहु प्रचलित समस्या पूर्ति परीपाटीलाइ नेपाली साहित्यमा प्रवेश गराए ।
४. उर्दुमा असाध्यै प्रचलित र लोकप्रिय गजल विधालाइ पहिलोपटक नेपाली साहित्यमा प्रवेश गराउने काम पनि मोतीराम भट्टले नै गरेका हुन् । यिनले धेरै गजलहरु लेखेका छन् । यिनका गजलको मिठास र लोकप्रियताबाट प्रभावित भएर नेपाली साहित्यमा गजल लेख्ने परम्परा बिकास भएको हो ।
५.नेपाली साहित्यमा गुणीको गुणको कदर गर्न सिकाउने पनि यिनै हुन्। नेपाली साहित्यमा समालोचना बिधाको जग हाल्ने काम पनि मोतीराम भट्टले नै गरेकोे मानिन्छ ।
६. मोतीराम भट्टले विभिन्न विधामा कृतिहरुको रचना गरि गराइ तिनलाई प्रकाशित गराएर नेपाली साहित्य भण्डार भर्ने र नेपाली साहित्यमा विविधता ल्याउने , संवृद्द तुल्याउने काम गरे । धार्मिक , सामाजिक बिषय बिषय बाहेक श्रृङ्गारिक, हास्य, प्रकृति चित्रण आदि बिषय बस्तुमा थुप्रै काव्य कृति रचना गरे, अरुलाइ पनि त्यसो गर्नका लागि प्रेरित गरे, फराकिलो आधार भुमि तयार पारिदिए ।
७. नेपाली भाषामा पहिलोपटक नाटक लेखी निर्देशन र प्रदर्शन समेत गराउने काम पनि यिनै मोतीराम भट्टले गरेका हुन् । नाटक विधालाइ नेपाली साहित्यमा प्रवेश गराउने श्रेय पनि यिनलाई नै छ ।
यसरी हेर्दा नेपाली साहित्यमा मोतीराम भट्टको योगदान उल्लेखनीय मात्र होइन अविस्मरणीय र अतुलनीय रहेको छ। यिनले नेपाली साहित्यलाइ तिर्न नसकिने गुन लगाएर गएका छन् । जम्मा ३० बर्षको उमेरमा दिलोज्यान दिएर नेपाली भाषा साहित्यको सेवामा समर्पित भइ राष्ट्रिय बिभुतिको सम्मान पाउन सफल मोतीराम भट्टको जीवन- जीवनी साँच्चै प्रेरणादायी र प्रशंसनीय छ। नेपाली साहित्य र नेपाली पाठकका मन मनमा अजर अमर , स्मरणीय र वन्दनीय छन् , रहिरहने छन् । आज मोती जयन्ती ! सरस्वतीका वरद पुत्र , नेपाली साहित्यका जाज्वल्यमान रत्न , मोती , माणिक्य युवाकवि मोतीराम भट्ट प्रति भावपुर्ण शब्द सुमन !
२०८०/५/२८ मणि गृह, म्याग्दे- ४ तनहुँ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्