Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

काठमाडौंका सर्वाधिक चर्चित वडाध्यक्ष रिजालको आकस्मिक वियोग, एक्कासी कसरी बिग्रियो स्वास्थ्य ?


काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

२०२७ साल कात्तिकमा जन्मिएका रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जनाएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गरी दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भएको अवस्थामा रिजाललाई अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको जनाएको छ ।

‘ARDs भई Refractory Spetic Shock/Acute Kidney Injury भई उहाँको उपचारको क्रममा आज बिहान ७:३० बजे निधन भएको सबैमा जानकारी गराउँछौं,’ अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हक्की स्वभावका रिजाल काठमाडौंका सर्वाधिक चर्चित वडाध्यक्षमा पर्छन् । बालेन साह काठमाडौं महानगरपालिकाको मेयर भएपछि रिजालको उनीसँग टकराव परेको थियो । महानगरको पहिलो कार्यपालिका वैठकमा बालेनको प्रतिवाद गर्दा उनी चर्को विवादमा परे । बालेनका समर्थकहरू उनीमाथि खनिएका थिए । तर, पछि बालेन आफैं वडाध्यक्ष रिजालको घरमा पुगेर उनीसँग सहकार्यको हात अघि बढाए । त्यसपछि भने रिजालले बालेनलाई साथ दिँदै आएका थिए ।

रिजाल काठमाडौं १६ मा लगातार दोस्रोपटक वडाध्यक्ष बनेका हुन् । उनी गत स्थानीय चुनावमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गर्दै ४००५ मतका साथ विजयी भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मुकुन्द रिजालको आकस्मिक वियोग


तपाईको कमेन्ट लेख्नुहोस्