Techie IT
शनिबार, कात्तिक २९,२०८३

चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुरु


प्रदीप ढकाल

चाँगुनारायणमा,३१ असार २०८०

भक्तपुरको चाँगुनारायणमा चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुरु भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच अभियान शुभारम्भ भएको हो ।

अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रति घर २ वटा बिरुवा समेत नि:शुल्क प्रदान गर्ने लक्ष लिएको अभियानका संयोजक नरेश खड्काले जनाएका छन् । ‘यस अभियानलाई ३ वर्ष सम्म संचालन गरी चाँगुनारायण सिटीलाई एवोकाडो सिटीको पहिचान दिने हाम्रो प्रयास रहनेछ ।’ संयोजक खड्काले भने ।

यस अभियानका परिकल्पनाकार भने बागमती प्रदेश सरकारको मूख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं बौद्धिक नेता डिपी ढकाल रहेका छन् । अर्थशास्त्रका ज्ञाता समेत रहेका ढकालले चाँगुनारायणका स्थानीयको आय आर्जन बढाउँन यस्तो योजना अघि सारेपछि यसलाई अभियानकै रुपमा संचालन गर्न लागिएको अभियन्ताहरु बताउछन । अर्थ राजनीतिका पुस्तक समेत लेखेका नेता ढकाल अभियानको मुख्य संरक्षक र उत्प्रेरक रहेका छन् ।

चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं अभियानका मुख्य संरक्षक ढकालले आफू चाँगुनारायणबासी पनि भएको भन्दै अभियान जनस्तरमा सबै स्थानीयको सहभागिता र पहुँचमा संचालन हुने विश्वास व्यक्त गरेका छन् । प्रकृती र पूर्खाको इतिहासले आफ्नो पहिचान बनाएको चाँगुनारायणलाई आफ्नो पुस्ताले एभोकाडो सिटी बनाएर नयाँ पहिचान जोड्न खोजेको उनले जिकिर गरे । यस अभियानले चाँगुनारायणका प्रत्येक घर परिवारमा कम्तिमा वार्षिक पचास हजार अतिरिक्त आय थपिने दावी गर्दै उनले चाँगुनारायणको सौन्दर्यकरण र वातावरण संरक्षणमा समेत यसले मद्दत पुर्याउने बताए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्