Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

अनेरास्ववियुको २३ औँ महाधिवेशन आजबाट, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने


काठमाडौं, २ फागुन । नेकपा एमाले निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा आजबाट हुन लागेको महाधिवेशनको तयारी पूरा भएको अनेरास्ववियुले जनाएको छ ।

सात वर्षपछि महाधिवेशन हुन लागेको हो । यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको अनेरास्ववियुले जनाएको छ । महाविधेशनमा देशभरबाट १ हजार ५ सय ७३ प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव समिक वडाल आंकाक्षी देखिएका छन् । महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने नभए निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटोछरितो बनाउन विद्युतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको बताइएको छ ।

फागुन ४ गतेसम्म हुने महाधिवशेनले आगामी दुई वर्षका लागि १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अनुशासन, लेखा र निर्वाचन गरी तीन आयोग निर्वाचित गर्ने अनेरास्ववियुले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियुको २३ औँ महाधिवेश


तपाईको कमेन्ट लेख्नुहोस्