Techie IT
सोमबार, जेठ ११,२०८३

राष्ट्रपति निर्वाचनमा को को छन् आकांक्षी ?


काठमाडौं । नयाँ राष्ट्रपतिका लागि सत्ता गठबन्धन र बाहिर रहेका दलहरू अंकगणितीय जोड घटाउमा व्यस्त छन् । गत १० पुसमा प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत दिएकाले कांग्रेसले ‘राष्ट्रपतिमा आफ्नो दावी स्वभाविक रहेको’ बताउँदै आएको छ । एमालेले भने सरकार गठनअघि नै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री र एमालेले राष्ट्रपति लिने सहमति भएको दाबी गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपति राष्ट्रिय सहमति खोजी गर्ने बताउँदै आएका छन् । प्रचण्डको सो आशयप्रति एमाले फेरि सशंकित बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारमै राष्ट्रिय सहमति खोजी हुने बताइसकेका छन् ।

तर, सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रभित्र भने कांग्रेस र एमालेभन्दा बाहिरबाटै राष्ट्रपति चयन गर्दा शक्तिसन्तुलका हिसाबले पछिको अवस्थाका लागि सहज हुने विश्लेषण हुन थालेको छ ।

राष्ट्रपतिको उम्मेदवार अहिलेसम्म कुनै पनि दलले टुंगो लगाएका छैनन् । सबै दलका शीर्षनेता आगामी दिनमा आफूलाई ‘कम्फर्टेबल’ हुनेगरी उम्मेदवार खोजीमै रहेका छन् ।

एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष युवराज ज्ञवाली, नेतृ गोमा देवकोटालगायत नेताले ‘आफू राष्ट्रपति हुन खोजेको र त्यसका लागि लबिङ’ गरिरहेका छन् ।

कांग्रेसबाट वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला राष्ट्रपति बन्ने दौडमा छन् । यद्यपि, कांग्रेस सभापति शेरबहादुर देउवाले ‘राष्ट्रपतिको उम्मेदवार पार्टी १४औं महाधिवेशनताका गरेको सहमतिअनुसार पौडेल नै बनाउने’ निश्चित छ ।

संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी भण्डारीले दाेस्राे कार्यकालका लागि निर्वाचित हुने क्रममा  ३९ हजार २७५ मत प्राप्त गरेकी थिइन् । उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत पाएकी थिइन् । भण्डारीलाई एमाले र माओवादी केन्द्रले साझा उम्मेदवार बनाएका थिए ।

राष्ट्रपतिका लागि प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८७९ जना मतदाताले भोट हालेका थिए । त्यसबेला कुल ८८४ मतदातामध्ये ८७९ जना मात्रै सहभागी भएका थिए । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको थियो। ८७९ जना मतदाताको कुल मतभार ५२ हजार ४२२ हुन्छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रपति निर्वाचनमा को छन् आकांक्षी ?


तपाईको कमेन्ट लेख्नुहोस्