मध्यपहाडी राजमार्गमा ४४ पुल निर्माण गर्न र १९ पुलको ठेक्का बाँकी
काठमाडौँ । पछिल्लो पटक थपिएको अवधि छ महिना बाँकी हुँदा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा अझै ४४ पुल निर्माण गर्न बाँकी छ । राष्ट्रिय गौरवको सो आयोजनामा निर्माणस्थल उपलब्ध नहुँदा सडकसँगै पुल निर्माणसमेत ढिलाइ भएको हो ।
मध्यपहाडका २६ जिल्ला जोड्ने आयोजनामा जम्मा पुल एक सय ३७ रहेकामा हालसम्म ९३ पुल सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । बाँकी अवधिमा १९ पुलको ठेक्का आह्वान गर्नुपर्नेमा चालू आवमा नै ठेक्का आह्वान गरेर निर्माणमा जाने आयोजनाका सूचना अधिकारी सुरज अधिकारीले बताउनुभयो ।
निर्माणाधीन पुल २५ मध्ये पनि कतिपय पुल सम्पन्न हुने अवस्थामा पुग्न लागेको उहाँको भनाइ थियो । सूचना अधिकारी सुरजले भन्नुभयो, “यो आवमा १८ पुल निर्माण गरिसक्ने लक्ष्य छ ।” ठूला पुल बन्न लामो समय लाग्ने भए पनि अहिले सो राजमार्गमा निर्माणमा जानुपर्ने ठूला सडक नभएको र अहिले बनाउन बाँकीमा पनि लामो लामो पुल नभएकाले राम्रो काम गर्नसक्ने निर्माण कम्पनी आएमा एकै याममा सम्पन्न गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
सूचना अधिकारी सुरजले भन्नुभयो, “साना २०÷२५ मिटर लामा पुल भएकाले एकै याममा सकिन्छ ।” निर्माण व्यवसायीले काम सरासर नगर्दा मात्रै लामो समय लाग्ने हुन्छ । थपिएको अवधि असार मसान्तसम्म भने सडक र पुल दुवैका लागि पर्याप्त नभएको र अझै पनि कतिपय सडक खण्डमा रेखाङ्कन टुङ्गो लगाउन बाँकी सूचना अधिकारी सुरजले उल्लेख गर्नुभयो ।
भेरी पुलमा ठेक्का तोडिएकाले नयाँमा जाँदा समय लाग्ने भएको छ र यहाँ पुलको लम्बाइ एक सयभन्दा बढी लामो भएकाले समय लाग्ने तर अरूतिर पुलको लम्बाइ कम रहेको उहाँको भनाइ थियो ।
मध्यपहाडको समृद्धिका आधारका रुपमा रहेको यस राजमार्गको निर्माण सुरु भएको डेढ दशकमा ६४ प्रतिशत सकिएको छ । आयोजनाको पहिले तोकिएको अवधि सकिएको छ वर्ष नाघिसक्दा पनि कतिपय खण्डमा सडक कहाँबाट बनाउने (रेखाङ्कन) गर्नेमै अन्योल रहेको छ । पहिले बूढीगण्डकी नदीको नजिकै सडकको रेखाङ्कन गरिएको थियो । ऊर्जा तथा जलस्रोत मन्त्रालयले सो स्थानमा जलाशययुक्त आयोजना निर्माण गर्ने योजना बनाएका कारण अझै अन्योल भएको सूचना अधिकारी सुरजले बताउनुभयो । केही समय पहिलेसम्म कास्कीमा पनि रेखाङ्कन गर्न अन्योल भए पनि अहिले त्यो समाधान भइसकेको उहाँले जानकारी दिनुभयो ।
चालू आवमा मात्रै ३५७ किमी सडक कालोपत्र, १८ पुल निर्माण र एक सय ३४ दशमलव पाँच किमी सडक निर्माणका लागि ठेक्का गर्नुपर्ने आयोजनाले जनाएको छ । पछिल्लो पटक थप भएको अवधि चालू आवको अन्तिमसम्म भए पनि त्यो अवधिसम्म ठेक्का भइसक्नसमेत कठिन देखिएको छ तर धेरै खण्डमा ठेक्का लगाउन बाँकी नभएको आयोजनाले जनाएको छ ।
पूर्वको पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्मको यो मार्ग निर्माण भए मध्यपहाडका नागरिकको जीवन सहज हुने, नयाँ सहर निर्माण हुने र पूर्वपश्चिम राजमार्गको चाप कम हुने अनुमान गरिएको छ । सरकारले आव २०६९/७० देखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #मध्यपहाडी राजमार्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्