Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

गाउँमा मत माग्न जाँदा सधैं देउवामात्र किन प्रधानमन्त्री भनेर प्रश्न गरे, जवाफ दिँदादिँदै हैरान भयौं – सापकोटा


 काठमाडौं । नेपाली कांग्रेसका नेता बाबुकृष्ण सापकोटाले गत मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धन नगरेको भए पनि कांग्रेसलाई घाटा नहुने बताएका छन् । कांग्रेसले गठबन्धन गरेपछि मत कम आएको र टिकट नपाउनेहरु असन्तुष्ट भएको भन्दै उनले कांग्रेस आफैंमा सक्षम पार्टी भएकाले एक्लै प्रतिस्पर्धा गर्दा पनि फरक पर्ने थिएन भने । ‘गठबन्धन गरेर जाँदा कतकता टिकट वितरणमा असन्तुष्टि देखियो, टिकट पाउँछु र जित्छु भनेर पर्खेर बसेकाहरु रिसाए त्यसको पनि असर प¥यो’ उनले भने ‘कांग्रेसले सबै ठाउँमा उम्मेदवार उठाउन पाएको भए पार्टीभित्रको असन्तुष्टि र आन्तरिक द्धन्द्ध कम हुने थियो ।’
धादिङको क्षेत्र नम्बर १ को (१) प्रदेशबाट प्रदेशसभामा दाबी गरेका उनले आफूले टिकट नपाए पनि टिकट पाउनेलाई जिताएको बताए । टिकट लिन खोज्ने प्रतिस्पर्धीहरु धेरै हुने र टिकट एउटाले पाउने भन्दै उनले थपे ‘यसपालि टिकट पाइन भनें मेरो राजनीति नै सकियो र म त बर्बाद भएँ भनेर पनि राजनीति हुँदैन ।’ उनले राजनीतिमा धैर्य गर्न सके अवसर फेरि पनि आउने बताए । गत मंसिरमा भएको पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका उनी धादिङको निवर्तमान कोषाध्यक्ष पनि हुन् ।
हिजो केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनले गरेका गलत कामको विरोधमा बनेको गठबन्धनलाई निरन्तरता दिएर जानु कांग्रेसको पनि बाध्यता भएको उनले बताए । ‘जे भए पनि एउटा शासकलाई ढालेका छौं, ओली प्रधानमन्त्री भइरहेका भए अहिलेसम्म के के गर्थे भन्नै सकिँदैनथ्यो ’ उनले थपे ‘हिजो ओलीले सरकार चलाउँदा उनले जनतालाई सबैथोक दिन्छु भनेर ढाँटे, आखिर जनताले गफबाहेक केही पाएनन् त्यसको परिणाम अहिलेको निर्वाचनमा ओलीले र उनको पार्टीले भोगेको छ ।’ उनी नेपाली कांग्रेसमा युवा पुस्ताले संसदीय दलको नेतासँगै सरकारको नेतृत्व गर्छु भन्नुलाई स्वभाविकै ठान्छन् ।
नयाँ अनुहार आएको खण्डमा जनता पनि आशावादी हुने र एक प्रकारको राम्रो सन्देश जाने उनको बुझाई छ । अहिले युवाको पक्षमा माहौल बनेको र अन्तर्राष्ट्रिय समुदायले पनि युवालाई नै समर्थन गर्न सक्ने उनको बुझाई छ । ‘सधैं तिनै पुराना नेता देख्दा जनता पनि दिक्क भइसकेछन्, हिजो जनतामा मत माग्न जाँदा मानिसले हामीलाई त्यो पार्टीमा अरु कोही मान्छे छैन ? भनेर प्रश्न गरे’ उनी भन्छन् ‘युवा नेता भन्नाले जो पनि आउन सक्छ, मानिसहरुले सधैं देउवा नै मात्र प्रधानमन्त्री किन भन्ने प्रश्न उठाइरहेका छन् त्यसैले विकल्प खोज्ने कुरा आएको हो ।’ उनले सत्ता गठबन्धनलाई सरकार बनाउने म्याण्डेड दिएकाले अरु पार्टीको सरकार बन्ने सम्भावना नभएको बताए ।
‘कांग्रेस ठूलो पार्टी भएकाले उसैले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने जनताको चाहना छ’ उनले थपे ‘ओली पनि प्रधानमन्त्री बन्न पाए हुन्थ्यो भनेर लागेका छन् तर त्यो सम्भावना अहिले छैन ।’ उनले अब बन्ने सरकारले जनताको चाहना पूरा गर्नुपर्ने बताए । उनले हिजोको निर्वाचनभन्दा हलिे कांग्रेसको ७ प्रतिशत मत घटेकामा दुःख व्यक्त गरे । त्यो मत फेरि ल्याउन पनि कांग्रेस र यसको नेतृत्वप्रति जनतालाई आशावादी बनाउनुपर्ने उनको सुझाव छ ।

क्याटेगोरी : समाचार
ट्याग : #बाबुकृष्ण सापकोटा


तपाईको कमेन्ट लेख्नुहोस्