निर्बु बराह मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल
दमौली I चारैतिर जङ्गलले घेरिएको ठाउँ । जङ्गलको खोँचमा आकर्षक मन्दिर । मन्दिरको आडैमा पोखरी, पोखरीमा खेलिरहेका माछा ।
दमौलीबाट आठ किलोमिटर दूरीको व्यास नगरपालिका–११ निर्बुस्थित निर्बु बराहलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय लागेका छन् । यस क्षेत्रको प्रचारसहित पर्यटक भित्र्याउन स्थानीय सक्रिय भएको निर्बु बराह मन्दिर संरक्षण समितिका अध्यक्ष तुलसीराम भण्डारीले जानकारी दिनुभयो । “पौराणिक महत्वको यस ठाउँ पहिला उराठलाग्दो थियो, स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि यस ठाउँले गति लिन थाल्यो ।”
पहिला जीर्ण र सानो रहेकामा हाल मन्दिर पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । “विसं १९४६ मा धर्मराज अधिकारीले दिएको घण्ट फेला परेको छ, यो पुरानै मन्दिर हो”, भण्डारीले भन्नुभयो । विगतमा यस ठाउँका केही संरचना चोरी भएको बताइन्छ । “घण्टहरु लथालिङ्ग थिए, स्थानीय पूर्णबहादुर गुरुङको सक्रियतामा मन्दिर बनाएपछि अलि व्यवस्थित भयो”, भण्डारी सम्झिनुहुन्छ, “अहिले स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा मन्दिर पुनर्निर्माण गरेका छौँ ।”
मन्दिर संरक्षण समितिका सचिव गुप्तमान गुरुङका अनुसार करिब रु ४० लाखमा मन्दिर पुनर्निर्माण गरिएको छ । पुर्ननिर्माणलाई सङ्घीय सरकारबाट रु सात लाख ५५ हजार, गण्डकी प्रदेश सरकारबाट रु १५ लाख ७२ हजार, व्यास नगरपालिकाबाट रु छ लाख ९५ हजार सहयोग भयो । स्थानीयकै सक्रियतामा रु ११ लाख ३० हजार चन्दा सङ्कलन गरियो ।
उहाँका अनुसार प्रवेशद्वार, कम्पाउन्ड निर्माण गर्न बाँकी छ । “यसका लागि तीन वटै तहका सरकारबाट बजेटको अपेक्षा गरेका छौँ,” गुरुङ भन्नुहुन्छ । समितिका पूर्वाध्यक्ष सोमबहादुर गुरुङ यस ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्ने सोच राखिएको बताउनुहुन्छ ।
मन्दिरका पुजारी बलवीर थापाका अनुसार मनले चिताएको कुरा पूरा गर्ने विश्वासका साथ यहाँ भक्तजन पूजाआजालाई आउछन् । यहाँ पञ्चबलि दिन जिल्लाभित्र र बाहिरबाट भक्तजन आउछन् । मन्दिरमा दसैँ, पुस १५ मा भक्तजनको बढी भीडभाड हुन्छ । काठमाडौँ, पोखरा, चितवनलगायत ठाउँबाट भक्तजन पञ्चबलि दिन आउने गरेको मन्दिर संरक्षण समितिका उपाध्यक्ष उदयचन्द्र पौडेलले जानकारी दिनुभयो । निर्बु बराह सामुदायिक वनभित्र रहेको मन्दिर आसपास पहिरा जान सक्ने सम्भावना भएकाले पर्खाल लगाइएको छ । मन्दिर नगरपालिकाको धार्मिक पर्यटकीयस्थल भएकाले नगरपालिकाका तर्फबाट सक्दो सहयोग गने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । रासस
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #दमौली, #निर्बु बराह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्