चिसो बढ्दै गएपछि खुम्बुमा घट्यो पर्यटकको चहलपहल
सोलुखुम्बु ।चिसो बढ्दै गएपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रमा विदेशी पर्यटकहरू धमाधम फर्कन थालेको छन् ।
तापक्रममा कमी आएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यहरूको अवलोकन गर्न आउने पर्यटकहरू दिन प्रतिदिन फर्कन थालेका हुन् ।
हिमपात र जाडोको सिजन शुरु भएकाले यहाँका पदमार्गमा बाह्य पर्यटकहरूको आवतजावत कम हुन थालेकाले खुम्बु क्षेत्र प्रायः सुनसान जस्तै बनेको छ । हवाई मार्ग प्रयोग गरी आउने पर्यटकहरूका कारण तेन्जिङ हिलारी विमानस्थलमा फर्कनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ ।
सिजनमा पर्यटकको दर्ता गर्न भ्याई नभ्याई भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीहरूलाई पर्यटकको चाप घट्न थालेपछि हल्का भएको कार्यालयका एक कर्मचारीले बताउनुभयो ।
पदमार्ग र हवाई मार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरूको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । कार्यालयमा पर्यटक सूचना केन्द्र समेत रहेको छ ।
केन्द्रले पर्यटकहरूलाई खुम्बु क्षेत्रमा जाँदा पर्यटकहरूले अपनाउनै पर्ने नियम, उच्च हिमाली क्षेत्रमा जाँदा पर्यटकले ध्यान दिनुपर्ने कुरालगायतका विषयमा पर्यटकहरूलाई जानकारी प्रदान गर्ने भएकाले कर्मचारी व्यस्त हुन्छन् । सिजन सकिएकाले फाटफुट रुपमा मात्र पर्यटक प्रवेशद्वार हुँदै जाने गरेको बताइएको छ ।
टे«किङ सिजन शुरु भएसँगै लुक्ला पुगेका जिल्ला तथा अन्य विभिन्न भागका पर्यटन व्यवसायीहरू सबै फर्किएका छन् । कात्तिकको अन्त्यमा सिजन सकिएको भएपनि मङ्सिरको दोस्रो सातासम्म भने पर्यटकको हल्का आवतजावत हुने गर्दछ । दसैँको अघिदेखि शुरु भएको सिजनमा दशैँ तथा तिहार नमानी पर्यटक भरियाका रुपमा खुम्बु पुगेकाहरू समेत बाटोमा फर्कँदै गरेको पाइन्छ ।
अघिल्ला वर्षहरुमा मौसम प्रतिकुलताका कारण कतिपय पर्यटकहरूको हवाई उडान रद्द हुँदा प्रत्यक्ष रुपमा पर्यटन व्यवसायीहरू मारमा परेका भए पनि यसवर्ष मौसममा कुनै खराबी नआएपछि सहजै फर्कन पाएका छन् । प्रत्येक सिजनमा पर्यटक डुलाउने एक जना पथप्रदर्शक नवराज तामाङले भन्नुभयो, “पर्यटकको हवाई उडान रद्द हुँदा सबैभन्दा बढी पर्यटक भरियाहरू मारमा पर्ने गर्थे, मौसम खराबी भएमा उनीहरू यहाँको महँगो खाना खाएर बस्न बाध्य हुन्छन् तर अहिले मौसम राम्रो भएकाले सहज भयो ।”
त्यस्तै, होटल व्यवसायीहरू पनि अफ सिजनमा जाडो छल्न काठमाडौँ तथा तराईका विभिन्न क्षेत्रमा झर्न थालेका छन् । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङबोचे लगायतका ठाउँहरूमा रहेका होटलहरुका मालिकहरू होटलमा काम गर्नेलाई राखेर अर्को सिजनसम्म हिँडेका हुन् ।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #चिसो बढ्दै गएपछि खुम्बुमा घट्यो पर्यटकको चहलपहल, #पर्यटक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्