काठमाडौं क्षेत्र नम्बर–६ : भीमसेनदास प्रधान र सर्वेन्द्र खनाल बीच टक्कर
काठमाडौं । दुई पटक विजयी भएर संसदमा पुग्नुभएका काठमाडौंका रैथाने भीमसेनदास प्रधान र नेपाल प्रहरीका महानिरीक्षक पदबाट अवकाश पाएपछि राजनीतिमा प्रवेश गरेर पहिलो पटक चुनाव लड्दै गर्नुभएका सर्वेन्द्र खनालबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
प्रधान नेपाली कांग्रेसबाट उम्मेदवार हुनुहुन्छ भने खनाल एमालेबाट उम्मेदवार हुनुहुन्छ । २०७० सालको दोस्रो संविधानसभा र २०७४ सालको आम निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका प्रधानलाई टक्कर दिन नेपाल प्रहरीमा कार्यरत रहँदा साहसिक काम गरेर चर्चा कमाएका खनाललाई एमालेले अघि सारेको छ । काठमाडौंका रैथाने प्रधानलाई विगतमा नेपाल प्रहरीमा कार्यरत रहँदा खनालले कमाएको ख्याति भारी बनेको छ ।
खनाल त्यस्ता प्रहरी अधिकृत हुनुहुन्थ्यो, जसले तत्कालीन नारायणी अञ्चलको प्रमुखको रूपमा कार्यरत रहँदा तराईका बारा, पर्सा जिल्लामा सक्रिय भूमिगत समूहलाई निमिट्यान्न पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । त्यतिमात्र होइन, काठमाडौंमा कार्यरत रहँदा फुटबल प्रतियोगिताको म्याच फिक्सिङ गर्ने खेलाडीको पक्राउ र गुण्डागर्दी नियन्त्रणमा उहाँले निभाएको भूमिकाको पनि प्रशंसा हुने गर्दछ ।
राजनीतिमा नयाँ विगतले उहाँलाई मतदातासम्म पुग्न सहज भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ टोखा रोडकी सबिता शर्माले सर्वेन्द्र खनाललाई आफूले प्रहरीमा हुँदादेखि नै चिनेको बताउनु भयो । “उहाँले गरेका कामले पहिल्यैदेखि चिनेकी थिएँ । हक्की स्वभावको लाग्छ, राजनीतिमा पनि सफल हुनुहोस् भन्ने शुभकामना दिएँ,” उहाँले भन्नुभयो। चुनाव नजिकिँदै जाँदा देखिएका परिदृश्यले यस क्षेत्रमा कांग्रेस उम्मेदवार प्रधान र एमाले उम्मेदवार खनालबीच नै प्रतिस्पर्धा हुने निश्चित छ । दुई प्रतिस्पर्धी मतदाताको घरदैलोसम्म पुग्नुभएको छ ।
प्रधानको तुलनामा खनालले मतदाताका प्रश्नको सामना गर्न परेको छैन । दुई पटकसम्म विजयी भएर संसद् पुगेर मन्त्रीसमेत हुनुभएका प्रधानलाई मतदाताले सोध्ने एउटै प्रश्न छ, दुई पटकसम्म जिताएर पठायौँ, तपार्इंले के गर्नुभयो ? यही प्रश्नको जवाफ दिन प्रधानलाई हम्मे हम्मे परिरहेको छ । संसदमा आफ्नो उपस्थित खासै जनाउन नसक्ने, त्यहाँ भए नभएको थाहै नहुने जस्ता कटाक्ष पनि उहाँ सामना गरिरहनुभएको छ । यद्यपि उहाँ आफूले केही ठाउँहरू विकास गरेको, गुठी ऐनका बेला सक्रिय भूमिका खेलेको बताउनुहुन्छ ।
तर, प्रधानको तुलनामा सर्वेन्द्र नयाँ अनुहार भएकाले पनि मतदाताहरू एक पटक अवसर दिऊँ भन्ने सोचमा देखिन्छन् । टोखा क्षेत्रकै अर्का मतदाता कुलचन्द्र न्यौपानेले सर्वेन्द्र खनाललाई एक पटक मौका दिनुपर्ने बताउनुभयो । “अघिल्लो पटक रुखमा मत हालेको हो । यसपटक सर्वेन्द्रलाई भोट दिऊँ । नयाँ मान्छे हुन् । प्रहरीमा राम्रो गरेका, देश विदेशमा नेपालको प्रतिनिधित्व गरेका, उनीबाट आशा छ,” न्यौपानेले भन्नुभयो ।
खनालले पनि धारा, कुवा, मन्दिर निर्माण जस्ता चुनावी एजेण्डालाई भन्दा युवाहरूको अपेक्षा र समयको माग अनुसारका मुद्दाहरूलाई सम्बोधन गर्ने आश्वासन दिनुभएको छ । “साना साना विकास निर्माणका काम त स्थानीय सरकार मार्फत नियमित रूपमा चलिरहन्छन् । यो नियमित प्रक्रिया हो,” उहाँले भन्नुभयो “हामीले त समयको माग अनुसार युवाहरूलाई रोजगारी, उनीहरूको माग अनुसारका योजनालाई अघि बढाउने हो । देश निर्माणमा सक्दो भूमिका खेल्ने हो । भ्रष्टाचारको अन्त्यका लागि लड्ने हो ।”\
यो बेला
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भीमसेनदास प्रधान, #भीमसेनदास प्रधान र सर्वेन्द्र खनाल बीच टक्कर, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्