अनलाइन सञ्चार माध्यमबाट दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन प्रसारण गर्न पाउने
काठमाडौँ ।निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको छ ।
आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवार समेतले पालना गर्नुपर्ने सञ्चार माध्यमको प्रयोग सम्बन्धी आचरणअन्तर्गत राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एम.एम. रेडियो तथा पत्र पत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था गरेको हो ।
तर, अनलाइन सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने सम्बन्धमा स्पष्ट उल्लेख नभएकोले सो सम्बन्धमा स्पष्ट गरी राजनीतिक दल वा उम्मेदवारले सञ्चार माध्यमको प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था गर्नु उपयुक्त भएकोले निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचिकृत भएका अनलाइन सञ्चार माध्यममा देहाय बमोजिम निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्णय भएको पनि आयोगले जनाएको छ ।
(क) राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसार सम्बन्धी बढीमा एक मिनेटसम्मको श्रव्य दृश्य सामग्री अनलाइन सञ्चार माध्यमबाट प्रसारण गराउन सक्ने,
(ख) राजनीतिक दलले निजी क्षेत्रको अनलाइन सञ्चार माध्यमबाट रोड ब्लक, कन्टेन ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन (समाचारको बीचमा)को माध्यमबाट निर्वाचन प्रचारप्रसार गराउन सक्ने,
(ग) खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चार माध्यमबाट प्रकाशन वा प्रसारण गरिने निर्वाचन प्रचारप्रसार सामग्रीमा सःशुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने,
(घ) खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चार माध्यमबाट गरिने निर्वाचन प्रचारप्रसार सामग्रीमा कसैप्रति गाली गलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने र त्यस्तो विषय समावेश भएमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको मानिने,
(ङ) खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा विदेशी अनलाइन सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गर्न नहुने,
(च) राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानून बमोजिम पेश गर्नु पर्ने निर्वाचन खर्चको विवरणमा समावेश गरी पेश गर्नु पर्ने ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्