मेयर साहलाई ठेलागाडा खोसिएकी शर्मिलाको प्रश्न : हामी यो देशका नागरिक होइनौँ र ?
काठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा सडकबाट निर्ममतापूर्वक हटाइएका व्यवसायीहरूले आफूहरू यो देशको नागरिक हो कि होइन भनेर मेयर बालेन साहसँग प्रश्न सोधेका छन् ।
उनीहरूले महानगर राज्य आतंक सृजना गरेर आफ्नो रोजीरोटी खोसेको बताउँदै विकल्प नदिए पुनः सडकमा फर्किने चेतवानी दिएका छन् । मेयर साहको निर्देशनमा केही दिनअघि थापाथलीबाट ठेला खोसिएकी शर्मिला तामाङले आफूहरूलाई सरकारले विनाविकल्प नै बाँच्ने आधार खोसेको आरोप लगाएकी छिन् । महानगरले बाँच्न पाउने आफूहरूको अधिकारमाथि नै हमला गरी अमानवीय व्यवहार गरेको उनको भनाइ छ ।
संवाद डबलीमा भएको एक कार्यक्रममा शर्मिलाले प्रश्न गरिन्, ‘के हामी यो देशका नगरिक होइनौँ र ? सरकारले आफै रोजगारीको व्यवस्था गर्नु पर्ने ठाउँमा उल्टै उठिबास लगाउनु राम्रो कुरा हो र ?’ आफूले रोई कराई गर्दा पनि महानगरले मेयर साहको आदेश भन्दै आफ्नो ठेला लिएर गएको उनले बताएकी छिन् ।
थापाथलीस्थित प्रसुति गृहको नजिकै शर्मिलाले ठेलामा सामान बेचेर गुजरा चलाउँदै आएकी थिइन् ।
त्यसैगरी हेटौंडा स्थायी घर भइ बनेपामा गाडामा जुत्ताचप्पल बेच्ने विमला चौलागाईले सरकारले गरिबको बिहान बेलुका छाक टार्ने आधार पनि चुँडेर लगेको बताइन् । अर्की पीडित रामेछाप मन्थली घर भएकी सुनिता कार्कीले आफ्नो गाडामा भएको चट्पटे व्यापार नै रोकेपछि बालबच्चा र परिवार कसरी पाल्ने भनेर चिन्ता थपिएको बताइन् । नगरिकप्रति राज्य नै निर्मम भएपछि गुनासो सुनाउने ठाउँ समेत नहुँदा आफूहरू विक्षिप्त बनेको उनको भनाइ छ ।
गाउँको जग्गाजमीन बाँझो राखेर किन फुटपाथमा व्यवसाय गरेको भनेर प्रश्न गर्नेहरूलाई कार्कीले भनिन्, ‘गाउँघरमा हामीले व्यापार व्यवसाय गर्ने वा भएको जमीनमा खेती गर्ने वातावरण चाहिँ खोई त ? बालबच्चा पढाउने राम्रो स्कुल खोइ कहाँ छ ? बिरामी हुँदा सिटामोल समेत उपलब्ध नभएको गाउँ ठाउँमा हामी मात्रै बसिरहन पर्ने, तपाइँहरू गएर त्यो ठाउँमा बस्नुहोस् अनि कुरा गरौँला ।’
नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले विनाबिकल्प रोजीरोटी खोस्ने कार्य बन्द नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद थापाले मेयर बालेन्द्र साहले गरिब तथा स्वोरोजगार नागरिकलाई अमानवीय व्यवहार गरेको भन्दै उनीविरुद्ध छिट्टै सडकमा उत्रने उद्घोष समेत गरेका छन् ।
उनले फुटपाथका मजदुर किसान भूमिहीन सुकुम्बासीहरूलाई कुनै पनि विकल्प बिना नै रोजगारीको आधारबाट हटाइरहेको र त्यही प्रवृत्ति देशभर चलेकोप्रति आफ्नो संगठन आक्रोशित भएको बताएका छन् ।
अध्यक्ष थापाले नेपलको श्रम बजारमा औपचारिक ३५ लाख तथा अनौपचारिक २५ देखि ३० लाख श्रमिकहरू क्रियाशील रहेको र विगतदेखि वर्तमानका ठूला–ठूला परिवर्तनमा उनीहरूको अहम भूमिका रहे पनि हरेकपल्ट शासकहरूले उनीहरूलाई नै हेप्ने र पेल्ने गरेकाले फेरि पनि बिद्रोहमा जानपर्ने स्थिति सृजना हुने चेतावनी समेत दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #बालेन साह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्