निर्वाचन राजनीतिक उपलब्धिको रक्षा गर्ने एउटा महत्वपूर्ण अवसर : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुने निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभई संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्ने एउटा महत्वपूर्ण अवसरसमेत भएको बताउनुभएको छ ।
बाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं ७ ले आज आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि तयार भएको गठबन्धनलाई विजयी गराउनुपर्ने बताउनुभयो ।
देशमा अहिले प्रष्टरुपमा दुई वटा गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उहाँले एउटा गठबन्धन अग्रगमनतिर अर्को पश्चगमनतिर, एउटा संविधान जोगाउनेतिर र अर्को संविधान मास्नेतिर देखिएकाले अग्रमगनको पक्षमा उभिएको आफूहरुको वाम लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “ठूलो सङ्घर्षबाट प्राप्त भएको लोकतन्त्रको उपलब्धिको रक्षाका लागि प्रष्टसँग उभिनु जरुरी छ ।” नेपाली कांग्रेस र वामपन्थी शक्तिको एकता र सहकार्यबाटै २०४६ सालको संयुक्त जनआन्दोलन सफल भएको र पञ्चायती तानाशाहीको अन्त्य भएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौतापछि क्रमशः अगाडि बढेको सहमतिकै आधारमा वर्तमान गठबन्धन तयार भएको बताउनुभयो ।
राजनीतिक उपलब्धिको रक्षाका लागि तयार भएको गठबन्धनले यस निर्वाचन क्षेत्रको भावना बुझ्ने गरी उम्मेदवारी दिइएकाले सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले सङ्घीय संसद्का लागि गठबन्धनको तर्फबाट अगाडि बढाइएको उम्मेदवार मानुषी यमी भट्टराई आफ्नो काम इमान्दार रुपमा पूरा गराउन सक्ने विशेष क्षमता व्यक्ति भएको धारणा व्यक्त गर्नुभयो ।
काठमाडौँ–७ का मतदाता सचेत भएको भन्दै उहाँले नेवार समुदायको कोर एरिया भएकाले पनि परिवतर्नको लक्ष्य र चाहनालाई आत्मसात् गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो नेवार समुदायको कोर एरिया पनि हो । यहाँ अहिले जस्तो कम्बिनेशन देखिएको छ त्यो यहाँको जनताको भावना बुझ्ने र विकास र समृद्धिको यात्रा अघि बढाउने खालको छ भन्ने मैले बुझेको छु ।”
कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले ७० वर्षदेखि लडेर स्थापित गरेको राजनीतिक मूल्य र मान्यताको रक्षाका लागि पनि गठबन्धनको विजय जरुरी रहेको बताउनुभयो । उहाँले तत्कालीन माओवादी जनयुद्धले स्थापित गरेको राजनीतिक प्रणाली नै वर्तमान राजनीतिको मूलप्रवाह भएको बताउनुभयो ।
उहाँले प्रतिगामी शक्तिले लोकतान्त्रिक मूल्य र मान्यता उल्ट्याउन लागिपरेको भन्दै त्यस्तो गतिविधि आफूहरुलाई सह्य नहुने धारणा राख्नुभयो । पूर्व प्रधानमन्त्री भट्टराईले आगामी निर्वाचनमा जनविरोधी शक्तिलाई पराजित गर्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि पनि गठबन्धनले कुनै पनि हालतमा जित्नै पर्ने धारणा राख्नुभयो । उहाँले गठबन्धनको पवित्र उद्देश्य भएकाले नेपाली जनताले समेत साथ दिने र विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।
वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभातर्फ पूर्वविद्यार्थी नेता मानुषी यमी भट्टराई उम्मेदवार हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा १६ स्वतन्त्रसहित २९ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । रासस
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्