Techie IT
सोमबार, वैशाख २२,२०८२

निर्वाचन पछि पनि गठबन्धन कायम रहन्छ : सत्ता गठबन्धन


काठमाडौँ । सता गठबन्धनका प्रमुख ३ दलले मङ्सिर ४ को निर्वाचन पछि पनि गठबन्धन कायम राख्ने साझा प्रतिबद्धता जनाएका छन् ।

संविधानको रक्षा स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूको पक्षमा मतदान गर्न आज संयुक्त अपिल जारी गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले निर्वाचन पछि पनि गठबन्धन कायम रहने प्रतिबद्धता जनाएका हुन् ।

संविधानको मर्म विपरीत दुई–दुई पटक गरिएको प्रतिनिधि सभाको विघटन लगायत तत्कालीन सरकारको स्वेच्छाचारी कदमलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु गठबन्धनको उद्देश्य भएको अपिलमा उल्लेख गरिएको छ ।

आगामी निर्वाचनपछि बन्ने सरकारले जनताको समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्ने र कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि एवम् बजारीकरण, पूर्वाधार विकास लगायतका विषयलाई दलहरूको अपिलमा प्राथमिकतामा राखिएको छ ।

यस्तै पर्यटन प्रवद्र्धन, द्रुत औद्योगीकरण, व्यापार घाटाको न्यूनीकरण गर्न आयात प्रतिस्थापन एवम् निर्यात प्रवद्र्धन र जलविद्युतजस्ता क्षेत्रको विकास अहिलेको आवश्यकता भएको साझा प्रतिबद्धता पत्रमा उल्लेख गदै  यसका लागि पर्याप्त निजी, सहकारी एवम् सार्वजनिक लगानी वृद्धि गर्दै देशको हितमा विदेशी लगानी आकर्षण गर्ने नीति निर्वाचन पछि बन्ने गठबन्धन सरकारले लिने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी यातायात पूर्वाधार, सूचना प्रविधि र ऊर्जा विकास तथा अन्य आर्थिक गतिविधिबाट मुलुकलाई लाभ दिलाउनु तत्कालका प्राथमिकता हुने र नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई देशको आवश्यकता र राष्ट्रिय स्वार्थ केन्द्रित लक्ष्यका साथ सञ्चालन गर्ने विषय पनि साझा प्रतिबद्धता पत्रमा राखिएको छ ।

सत्तारुढ गठबन्धनको तर्फबाट आज सार्वजनिक साझा प्रतिविद्धतामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गर्नुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सत्ता गठबन्धन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545