नेपानको २८औँ वार्षिक साधारणसभामा विकासकर्मीहरू सम्मानित
काठमाडौँ ।नेपालमा सहभागीमूलक विकास पद्धतिको विषयमा अग्रणी प्रवद्र्धनात्मक तथा वकालती भूमिका निभाउँदै आइरहेको राष्ट्रिय सञ्जाल संस्था ‘नेपाल सहभागीमूलक कार्य समूह (नेपान)’ ले शनिवार काठमाडौँमा आयोजना गरेको २८ औँ वार्षिक साधारणसभाको अवसरमा विभिन्न विकासकर्मीहरू सम्मानित भएका छन् ।
राष्ट्रियसभाकी सांसद डा. विमला राई पौड्याल तथा राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंह प्रधानले प्रसिद्ध कणेल स्मृति विकास लेखक राष्ट्रिय सम्मान डा. चण्डीप्रसाद चापागाईंलाई र भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी राष्ट्रिय सम्मान विश्वास प्रजा (चेपाङ) लाई प्रदान गर्नुभयो । हरेक वर्ष प्रदान गरिने दुबै सम्मान दश–दश हजार राशिका छन् । प्रसिद्ध कणेल स्मृति सम्मान २०७५ सालदेखि नियमितरूपमा प्रदान गर्दै आएकोमा यस वर्षदेखि नेपानबाट थप पुरस्कारको रूपमा भोला दाहाल स्मृति सम्मान पहिलोपटक प्रदान गरिएको हो ।
त्यसैगरी नेपान सदस्यको रूपमा वर्षभर स्वयंसेवी भावनाबाट उत्कृष्ट सेवा पु¥याएबापत विकासकर्मीहरू रूपा बस्नेत र सम्पद जमरकट्टेललाई पनि सम्मानपत्रका साथ खादा लगाएर उहाँहरूलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व तथा पुरस्कारका बारेमा पूर्वअध्यक्ष तथा संस्थापक चेतनाथ कणेल एवं कोषाध्यक्ष दलबहादुर जिसीले प्रकाश पार्नुभएको थियो ।
पुरस्कार तथा सम्मान अर्पण कार्यक्रमको सभापतित्व नेपानका अध्यक्ष डा. अनोज क्षेत्रींले गर्नुभएको थियो भने अन्य विशेष अतिथिहरूमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती, ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्र प्रधान, काठमाडौँ विश्वविद्यालयका एसोसिएट डिन डा. प्रकाशचन्द्र भट्टराई, शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) का उपाध्यक्ष सान्त्वना देवकोटा, नेपानका निवर्तमान तथा पूर्व अध्यक्षहरू लगायतका व्यक्तित्व हुनुहुन्थ्यो । कार्यक्रमबीच नेपानबाट लामो समयदेखि प्रकाशन हुँदै आइरहेका ‘सहभागिता’ त्रैमासिक विकास म्यागाजिनको ५६ औँ अंक र पार्टिसिपेसन अंग्रेजी जर्नलको २२औँ अंकको पनि विमोचन गरिएको थियो । ती पत्रिकामा प्रकाशित सामग्रीका बारेमा क्रमशः लालबहादुर ओली तथा डा. झविन्द्र भण्डारीले चर्चा गर्नुभएको थियो ।

सभाका अवसरमा नेपालको शिक्षा प्रणालीको गुणस्तर कसरी बढाउने र समग्र विकास प्रणालीमा समावेशिता र सहभागिताको वास्तविक दर्शन, सोच र सिद्धान्तलाई व्यावहारिक तथा नीतिगत रूपमा कसरी प्रभावकारी बनाउने भन्ने समसामयिक विषयहरूमा समेत विज्ञहरूका अलगअलग विशेष प्रस्तुतिका साथ सघन बहस चलाइएको थियो । बहसको संयोजन एनसीई तथा नेपानका विज्ञहरूले गर्नुभएको थियो भने प्रस्तुति तथा छलफलमा डा. विष्णुराज कार्की, भोला भट्टराई, उत्तम निरौला तथा तोया गौतमले विशेष नेतृत्व लिनुभएको थियो ।
प्रस्तुतिमाथि विभिन्न विषयविज्ञ तथा सरोकारवाला व्यक्तिहरूले टिप्पणी गर्नुभएको थियो । टिप्पणी गर्नेहरूमा डा. विष्णुराज उप्रेती, लालबहादुर ओली, राघवराज रेग्मी, डा. विनोद भट्ट, डा. उद्धव राई, डा. झविन्द्र भण्डारी, रामानन्दप्रसाद गुप्त, राजेन्द्र खनाल, श्रीराम केसी, राजबहादुर गिरी, प्रेमराज न्यौपाने, पूर्णबहादुर चेम्जोङ, वसन श्रेष्ठ, सविता कनौजे न्यौपाने, मुरारी गौतम, डिल्ली डोटेल, फटिकबहादुर थापा, डा. नरेन्द्रसिंह ठगुन्ना, सञ्जय राणा, लगायतका हुनुहुन्थ्यो । नयाँबानेश्वरस्थित अर्याल इन्टरनेसनल होटेलको सभाकक्षमा शनिवार दिनभर चलेको छलफल गोष्ठी तथा साधारणसभाको संयुक्त कार्यक्रममा करिब असी जनाको सहभागिता थियो ।
यसैगरी साधारणसभाको बन्द–सत्रमा नेपान कार्यसमितिमा रिक्त हुन आएको ‘कोषाध्यक्ष’ पदमा आजीवन सदस्य रूपा बस्नेतलाई र कार्यसमिति सदस्यको एक रिक्त पदमा आजीवन सदस्य बालकृष्ण शर्मा सिलवाललाई दुई वर्षका लागि आजै सर्वसम्मतिबाट चयन गरिएको छ । चयन प्रक्रियाको संयोजन डा. सुशील कोइराला, डा. मिलन अधिकारी तथा जनक पन्तको एक त्रिसदस्यीय निर्वाचन टोलीले गरेको थियो ।
स्मरणीय छ, काठमाडौँ कोटेश्वरस्थित जनता–सडकमा नेपानको कार्यालय (‘नेपान–घर’) रहेको छ र हाल यसमा करिब साढे तीन सय सदस्य आबद्ध छन् । नेपानले विगत सत्ताइस वर्षदेखि सहभागीमूलक विषयमा अनुसन्धान, तालिम, प्रकाशन तथा राष्ट्रिय विकासका सवालमा नीतिगत वकालत, सदस्यबीच सञ्जालीकरण, विकास अनुभव अभिलेखन तथा बहुपक्षीय क्षमता अभिवृद्धिजस्ता विविध क्रियाकलाप गर्दै आइरहेको छ ।
नेपालमा ज्येष्ठ नागरिक सवालको एक प्रमुख स्रोत तथा अनुसन्धान केन्द्रको रूपमा पनि नेपानलाई लिने गरिन्छ । यसका सदस्यहरू सातै प्रदेशमा विस्तारित छन् । नेपानले विभिन्न प्रकारका अक्षयकोषहरूको समेत व्यवस्था गरेको छ ।
भविष्यमा युवा तथा महिला सदस्यहरू अभिवृद्धि गरी नेपानका प्रादेशिक सञ्जालहरू विस्तार गर्ने कार्यक्रम रहेको र सोका लागि सन् २०२३ देखि २०२७ सम्मको पाँचवर्षे नयाँ रणनीतिसमेत तयार पारिएको कुरा अध्यक्ष अनोज क्षेत्रीले बताउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #NEPAN, #नेपान, #नेपालमा सहभागीमूलक विकास पद्धति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्