पूर्ण क्षमतामा फोहोर व्यवस्थापनको प्रयास
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्ण क्षमतामा फोहोर व्यवस्थापनको काम गरिरहेको छ । हिजो (साउन २८ गते) फोहोर बोकेर १५२ वटा गाडीहरु बञ्चरे डाँडा ल्याण्डफिल साइडमा पुगेका थिए । आजदेखि संख्या बढाएर दैनिक २५० देखि ३५० वटासम्म फोहोर बोकेका गाडी बञ्चरे पु¥याउने योजना बनाइएको थियो । योजनाअनुसार काम गर्न विहानै अवरोध आइलाग्यो ।
तारेकश्वर नगरपालिका वडा नं. ३ का अध्यक्ष पर्शुराम अर्यालकाअनुसार गए राती अज्ञात समूहले तीनपिप्ले आठमाइल नजिक ढकाल खोलामा करिब ३ ट्रक फोहोर फाले । पानीको मुहानमा फोहोर फालिएको जनाउँदै स्थानीयले विहान सडक अवरुद्ध गरेका थिए । वडाध्यक्ष अर्याल भन्नुहुन्छ, ‘प्रहरीसँग समन्वय गरेर दोषी पत्ता लगाउने भनेर स्थानीयलाई सम्झाएपछि आजको अवरोध खुलेको छ ।’
महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, ‘फोहोर व्यवस्थापनमा उत्पादकदेखि व्यवस्थापनको चक्रमा काम गर्ने सबैको सहयोग आवश्यक छ । काठमाडौँबाट ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरुबाट दैनिक फोहोर उत्सर्जन हुने भएकाले हरेक दिन १५० गाडी फोहोरको व्यवस्थापन हुनु पर्छ । विगतका अवरोधले संकलित फोहोरलाई नियमित अवस्थामा पु¥याउन केही समय लाग्नेछ ।’
विविध प्रतिकुलताका बाबजुद फोहोर व्यवस्थापनमा खटिनेहरुको प्रशंशा गर्दै प्रमुख शाहले, अवरोध नगर्ने स्थानीय, फोहोर संकलन तथा लैजान सफाइ कर्मचारी र चालकहरु, अवरोध खुलाउन क्रियाशील सुरक्षाकर्र्मीसहित सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ ।
‘हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि सिसडोलको दुरावस्था बञ्चरेमा दोहो¥याउने छैनौँ । थुप्रिएको फोहोर व्यवस्थापन नभइ अन्य विकल्पहरुमा जानु व्यवहारिक रुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौँ ।’ प्रमुख शाह भन्नुहुन्छ, ‘फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि योजनाहरु छन् । तिनको कार्यान्वयनका लागि हदैसम्म प्रयास गरिनेछ । हाम्रो अन्तिम लक्ष्य फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कोही पनि फोहोरबाट आक्रान्त हुनु पर्दैन, कसैले गुमाउनु पर्दैन र सबैको साझा जीत हुनेछ ।’
महानगरको वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईकाअनुसार हिजो साइडमा पुगेका ४५ वटा गाडीले आज बिहान फोहोर खन्याएका छन् । साइटमा फोहोर सम्याउन, थिच्न तथा माटोले पुर्न २ वटा डोजर प्रयोगमा छन् । जसमध्ये एउटा महानगरको हो भने अर्को भाडामा लिएर सञ्चालन गरिएको हो । महानगरका २ वटामध्ये एउटाको मर्मत भइरहेको छ ।’ फोहोर व्यवस्थापन चक्रका बारेमा राई भन्नुहुन्छ, ‘साइटमा फोहोर खन्याएर मात्र हुँदेन । त्यसलाई सम्याउनु पर्छ । थिच्नु पर्छ । ग्याँस निष्कासन हुने भेन मिलाउनु पर्छ । माटोले छोप्नु पर्छ । साइट व्यवस्थापनका लागि डोजरको क्षमता र जनशक्तिको क्षमता मिलाउनु पर्छ ।’ उहाँकाअनुसार सडक अवरुद्ध गर्ने खालको अवरोध त छँदैछ । त्यसमा खाल्टाखुल्टी र पहिरो तथा संख्यात्मक रुपमा धेरै गाडीहरु दोहोरो रुपमा चलाउन कठिन छ । यी समस्या महानगरपालिकाको एक्लो समस्या वा एक्लैले समाधान गर्न सकिने खालको होइन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #फोहोर व्यवस्थापन, #बालेन्द्र शाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्