अब सवारी अनुमति पत्र तीन दिनमै
काठमाडौँ । तपाईँलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईँले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाउनुभएको थियो । प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय सञ्चालन गर्न सहज हुनेगरी २०७८ फागुन २६ गते कार्यविधि बनाएको थियो । सोही कार्यविधिअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आफू मातहतका सवारी चालक अनुमतिपत्र लिने कार्यालय बिहान ७ बजेदेखि सञ्चालन सुरु गरेको छ ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव इञ्जिनियर उमेश रुपाखेती बागमती प्रदेशले यातायात कार्यालयबाट दैनिक रुपमा प्रवाह हुने सेवाग्राहीको विवरण दैनिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको बताउनुहुन्छ । “सेवाग्राहीसँग प्रत्यक्ष जोडिने कार्यालय यातायात कार्यालयको सुधारका लागि बागमती प्रदेश कार्यालय लागेको छ”, उहाँ भन्नुहुन्छ ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्याङ, हेटौँडा, जगातिलगायतका कार्यालयले आज बिहान ७ बजेदेखि सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदान सुरु गरे पनि सवारी चालक अनुमतिपत्र एकान्तकुना, चाबहिलले छिट्टै सेवा प्रदान गर्ने बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल बताउनुहुन्छ ।
मन्त्री दाहाल यातायात कार्यालयभित्र देखिएको अस्तव्यस्तता हटाउँदै सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि कार्यविधि बनाएर बिहानैदेखि कार्यालय सञ्चालन सुरु गरेको बताउनुहुन्छ । “उपत्यका बाहेकका अरू जिल्लाका सेवाग्राही काठमाडौँभित्र सेवा लिन आउन नपरोस् भन्ने उद्देश्यले उपत्यका बाहिर पनि सवारी चालक अनुमतिपत्र कार्यालय खोल्न लागिरहेका छौँ”, उहाँ भन्नुहुन्छ ।
सेवाग्राही १० बजेदेखि यातायात कार्यालय सञ्चालन हुने भएकाले ७ बजेदेखि नै कार्यालय आएर लाइनमा बसेको अप्ठ्यारो अवस्थालाई महसुस गरेर बिहान ७ बजेदेखि नै कार्यालय सञ्चालन सुरु गरेको उहाँको भनाइ छ । मन्त्री दाहाल अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई मन्त्रालयले भत्ताको समेत व्यवस्था गरेको बताउनुहुन्छ ।
आज बिहान सवारी चालक अनुमतिपत्र ठूलोभर्याङमा सेवा लिन आउनुभएका नागार्जुन नगरपालिका–२ का सेवाग्राही रामबहादुर श्रेष्ठ यति चाँडो लाइसेन्सको काम हुन्छ भन्ने विश्वास आफूलाई नलागेको बताउनुहुन्छ । “यस्तो सेवा सधैँ प्रदान गर्नसके यातायात कार्यालयप्रति सेवाग्राहीले हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ”, उहाँ भन्नुहुन्छ ।
सोही कार्यालयमा सेवा लिन आउनुभएका डडेलधुराका वीरेन्द्र साउद पछिल्लो समय यातायात कार्यालयले दिने सेवाप्रति आफू सन्तुष्ट रहेको बताउनुहुन्छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्याङका निमित्त प्रमुख सञ्जय थापा यातायात क्षेत्रलाई हेर्ने नजरमा परिवर्तन ल्याउनु जरुरी रहेको बताउनुहुन्छ । “हरेकले आफू कर्मचारीमात्र नभएर सेवाग्राहीको नजरबाट हेर्न सके यातायात क्षेत्रमा सुधार आउँछ”, उहाँ भन्नुहुन्छ ।
ठूलोभर्याङले दैनिक तीन सय जनालाई सवारी चालक अनुमति पत्र प्रदान गर्दै आएको छ । दैनिक सात सय नयाँ सवारी चालक अनुमति पत्रका लागि दर्ता, एक सय ५० नवीकरण, दुई सयको राजस्व सङ्कलन र ५० जनालाई प्रतिलिपि प्रदान गर्दै आएको छ ।
यस्तै हप्ताको पाँच सय जनाको लिखित परीक्षा सञ्चालन गर्दै आएको कार्यालय प्रमुख थापा बताउनुहुन्छ । ठूलोभर्याङले सवारी चालक अनुमति पत्रका लागि चन्द्रागिरि नगरपालिकाको गुर्जुधारास्थित भेहिकल एकेडेमीबाट प्रयोगात्मक परीक्षा गराउँदै आएको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #अब सवारी अनुमति पत्र तीन दिनमै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्