त्रिदेशीय सीमा क्षेत्र छायालेकका प्रहरी अध्यारोमा रात बिताउन बाध्य
दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा तिङ्करस्थित छायालेकका नेपाल प्रहरी अध्यारोमा रात बिताउन बाध्य छन् । चीनको सीमानजिकै बस्ने प्रहरीका लागि वैकल्पिक उज्यालोको व्यवस्थापन नहुँदा उनीहरु अध्यारोमा बस्न बाध्य भएका हुन् ।
छायालेकमा उज्यालो नहुँदा प्रहरी राति ८ बजे नै सुत्ने गर्छन् । उज्यालो बनाउन मोबाइल बाल्नुपर्छ । मोबाइल चार्ज गर्न आधा घण्टा तल तिङ्कर गाउँ पुग्नुपर्छ । तिङ्करमा लघु जलविद्युत् छ ।
“प्रहरीमा भएको पुरानो सोलार बिग्रिएको रहेछ,” व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले भन्नुभयो, “चीनसँगको सीमामा बस्ने प्रहरी अँध्यारोमा बसेको देख्दा दुःख लाग्यो ।” राज्यले सीमा क्षेत्रमा बस्ने प्रहरीका लागि न्यूनतम सुविधासमेत पुर्याएको रहेनछ ।
नेपाल–चीन सीमा स्तम्भसम्म जाने जोसुकै पनि त्यही छायालेक प्रहरीकोमा गएर बास बस्छन् तर अँध्यारोमा बसेका प्रहरीको समस्याबारे सबै बेखबरजस्तै भएकाले आफूले त्यहाको प्रहरीका लागि सोलारको व्यवस्था गर्न पहल गर्ने उहाँले बताउनुभयो ।
“हामीले सीधैँ प्रहरीलाई दिन नमिल्ने रहेछ”, उपाध्यक्ष कुँवरले भन्नुभयो,“प्रक्रिया मिलाएर वडामार्फत दिने सोच बनाएका छौँ ।” जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्ट छायालेकका प्रहरीको लागि आफूले सक्ने सहयोग गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“हामीसँग भएको स्रोत र साधनले भएजति गयौँ तर सोलार किन्न पैसा हामीसँग हुँदैन् ।” विद्युत् र सौर्य ऊर्जा नभएकै कारण छायालेकका प्रहरी तीन चार दिनमा मात्रै जिल्लासँग सम्पर्कमा आउने गर्छन् ।
विद्युत्कै समस्याका कारण उनीहरुले नै जिल्ला कार्यालयमा सम्पर्क गर्न खोजेमात्रै सम्पर्क हुने गर्छ । चौकीमा रहेको सञ्चार सेट तिङ्कर आएर चार्ज गर्नुपर्छ । फोनले काम गर्दैन ।
अहिले तिङ्कर गाउँमा नेपाल टेलिकमको एनटी सेट लाइन जडान गरे पनि प्रहरीले आफन्त तथा घर परिवारसँग कुरा गर्न पनि तिङ्कर गाउँ आउनुपर्ने बाध्यता छ ।त्यहाँका प्रहरीले खाना पकाउन दाउरा नपाउँदा माटोभित्र पाइने जरा खनेर खाना पकाउन बाध्य भएका छन् । प्रहरी चौकीभन्दा जङ्गल निकै टाढा छ ।–रासस
क्याटेगोरी : समाचार
ट्याग : #त्रिदेशीय सीमा क्षेत्र छायालेकका प्रहरी अध्यारोमा रात बिताउन बाध्य, #प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्