श्रीलङ्काली राष्ट्रपतिले भोलिदेखि लागू हुने गरी दिए राजीनामा
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षले सोमबार भोलिदेखि लागू हुने गरी पदबाट राजीनामा दिनु भएको छ । उहाँले गत सोमबार असार २९ को मिति राखेर राजीनामा पत्रमा हस्ताक्षर गर्नु भएको छ । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि हुनेछ ।
राष्ट्रपति गोटाबायाले राजीनामा पत्रमा हस्ताक्षर गरेर वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेका तथा ती अधिकारीले सभामुख महिन्दा यापा आबेवर्देनालाई बुझाउने डेली मिररले जनाएको छ । संसद्बाट भोलि उहाँले गोटाबाया राजापाक्ष देशको राष्ट्रपति नरहेको सार्वजनिक घोषणा गर्नुहुने छ ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भोलि नै अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनुहुने छ । संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म उहाँले नै शासन सञ्चालन गर्नुपर्ने छ । सभामुखले आगामी साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई दिनुभएको छ। राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घे र विपक्षी दलका नेता सजिथ प्रेमदासा उम्मेदवार बन्ने पुष्टि भइसकेको छ । प्रेमदासाले देशको अर्थतन्त्र पुनर्निर्माण गर्न आफू तयार रहेको जानकारी हिजो दिनुभएको थियो ।
यसअघि प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म त्यहाँबाट बाहिर ननिस्कने स्पष्ट पारेका छन् । शनिबार राष्ट्रपति गोटाबाया देश छाडेर भागेको बताइएको थियो ।
चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह एवम् महामारीका कारण केही महिनायता श्रीलङ्काले अकल्पनीय आर्थिक सङ्कटको सामना गरिरहेको छ । आर्थिक रूपमा टाट पल्टिएको श्रीलङ्कामा इन्धनका साथै दैनिक उपभोग्य वस्तुको चरम अभाव छ । बाह्य ऋणको भारीले थिलथिलो भएको टापु राष्ट्रमा नयाँ राजनीतिक नेतृत्वले देशलाई आर्थिक सङ्कटबाट मुक्त गर्न कठोर परिश्रम गर्नुपर्नेछ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोटाबाया राजापाक्ष, #श्रीलङ्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्