Techie IT
बिहीबार, कात्तिक ६,२०८३

महर्षि स्कूलमा असल अभिभावक शिक्षा कार्यक्रम सम्पन्न


काठमाडौँ । काठमाडौँको सामाखुशीमा सञ्चालित महर्षि विद्यालयमा असल अभिभावक कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका वडा नं २६ मा सञ्चालित महर्षि स्कूलले विद्यार्थीसँगै अभिभावकलाई पनि असल शिक्षा प्रदान गर्ने उदेश्यले असल अभिभावक शिक्षा कार्यक्रम–२०७९ सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै महर्षि स्कूल सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो बच्चाको भविश्य आमाबाबुको हातमा भएको भन्दै बालबालिकालाई असल शिक्षा प्रदान गर्न अभिभावकलाई आग्रह गर्नुभयो । “बालबालिकाको पहिलो पाठशाला भनेको बाबुआमा र घर नै हो, घरमा जस्तो शिक्षा प्रदान गर्नसके बच्चा त्यस्तै बन्छन्, त्यसैले अभिभावकले आफ्नो बच्चाको राम्रो ख्याल गर्नुहोला,”– उहाँले भन्नुभयो ।
अध्यक्ष दवाडीले महर्षि विद्यालयमा अध्यनरत सबै विद्यार्थी आफ्नो लागि बराबर भएको भन्दै सबैलाई हाइजेनिक खाना खुवाउन विद्यार्थीलाई विद्यालयकै क्यान्टिनमा खाजा खाने व्यवस्था मिलाएको बताउनुभयो । महर्षि स्कूल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद पण्डितले विद्यार्थीलाई असल संस्कार सिकाउन शिक्षक र अभिभावकको उत्तिकै जिम्मेवारी भएको बताउनुभयो । उहाँले कर्म गरेमात्र उदेश्य पुरा हुने भन्दै कर्ममा लाग्न सबै विद्यार्थीलाई आग्रह गर्नुभयो । विद्यालयका प्राचार्य निर्मल पौडेलले विद्यालयको गुणस्तरलाई थप अगाडि बढाउन असल अभिभावक शिक्षा कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बच्चासँगै अभिभावकलाई असल बनाउन सके देशको विकासमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा महर्षि स्कूलका प्लस टु इन्चार्ज विनय दवाडी, वाद्यवाधक कोमल वलीले यस्तो कार्यक्रमले अभिभावकलाई आफ्नो छोराछोरीप्रति थप जिम्मेवारी बनाउने बताउनुभयो । मोटिभेसनल स्पीकर ईश्वर श्रेष्ठले आफ्नो छोराछोरीको भविश्य आमाबाबुको हातमा भएको भन्दै बच्चालाई असल संस्कार सिकाउन लाग्नुपर्ने बताउनुभयो । उहाँले मोबाइलका कारण धेरै बालबच्चाहरु विग्रेको भन्दै मोबाइलबाट बच्चालाई टाढा राख्नुपर्ने उल्लेख गर्नुभयो । सोही अवसरमा नेपालका राष्ट्रिय बाल कलाकार सुप्रिम मल्ल ठकुरी र आयुषा गौतमले लाईभ दोहोरी प्रस्तुत गर्नुभएको थियो । विस २०६० को दशकमा स्थापना भएको महर्षि स्कूलमा हाल ७०० विद्यार्थी अध्ययनरत रहेको विद्यालय सञ्चालक सदस्य कविता भट्ट (सुनिता)ले जानकारी दिनुभयो ।

क्याटेगोरी : समाचार
ट्याग : #हर्षि विद्यालय


तपाईको कमेन्ट लेख्नुहोस्