नागरिकता विधेयक तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले संसद्मा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक तत्काल अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने सम्पूर्ण सेवाबाट नागरिक वञ्चित भएको भन्दै उनीहरूलाई राज्यको नागरिक भएको आभास दिलाउन विधेयकको किनारा लगाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद इन्दुकुमारी शर्माले संसद्मा लामो समयदेखि विचाराधीन रहेको नेपाल नागरिकता ऐनसम्बन्धी विधेयक पारित नहुँदा राज्यले दिने शिक्षा, स्वास्थ्यलगायत सम्पूर्ण सुविधाबाट वञ्चित भएको भन्दै छिटोभन्दा छिटो पारित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले संविधान राज्य सञ्चालन गर्ने मूल कानून भएको र यसले सुनिश्चित गरेको नागरिकता प्राप्त गर्ने जन्मसिद्ध अधिकारको सुनिश्चितताका लागि नागरिकता विधेयक टुङ्गो लगाइनुपर्नेमा जोड दिनुभयो ।
उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन गर्न माग
सांसद अमृता थापाले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन गरी सङ्घीय संसद्लाई चाँडो पूर्णता दिन माग गर्नुभयो ।
उहाँले नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको महिला अधिकार कार्यान्वयन हुन नसक्दा नेतृत्व निर्माणमा गम्भीर असर पुगेको बताउनुभयो । प्रतिनिधिसभाको उपसभामुख पद विसं २०७६ माघ ६ गतेदेखि रिक्त रहेको छ भने २०७८ फागुन २० देखि राष्ट्रियसभा उपाध्यक्षको पद रिक्त छ ।
सांसद कलिला खातुनले पेट्रोल र डिजेलको मूल्य घटाएकामा सरकारलाई धन्यवाद दिँदै काठमाडौँका कतिपय स्थानमा हैजा फैलिएको भनी आएको विषयमा नियन्त्रणका लागि पहल गर्न आग्रह गर्नुभयो ।
सांसद कुमारी मेचेले आफ्नो क्षेत्रमा बजेट माग्दा पनि नपाएको गुनासो गर्दै झापाको चाराली खानेपानीको व्यवस्थापन, बालबालिकाले विद्यालयमा पुस्तक नपाएकोलगायत विषयमा सरकारले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
सांसद आशाकुमारी विकले कात्तिक ३० गते आएको वर्षाले बझाङका एक हजार १०० परिवार विस्थापित भएका र पीडितले अझै पूर्णरुपमा राहत नपाएको भन्दै मनसुन सुरु भएकाले विपद् व्यवस्थापनका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद कृष्णगोपाल श्रेष्ठले २०७९ जेठ १४ गते अर्थ मन्त्रालयमा बजेट निर्माणको समयमा अनाधिकृत व्यक्ति सहभागी भएको फुटेज सार्वजनिक गर्न माग गर्नुभयो ।
सांसद कृष्णबहादुर राईले काठमाडौँ क्षेत्र नं ३ स्थित गोकर्णेश्वर क्षेत्रमा मेलम्चीको खानेपानी पाइपलाइन विस्तार गर्न ढिलाइ भएको साथै जोरपाटी, नयाँ पार्टी, सुन्दरीजल, गोकर्ण, बौद्धलगायत क्षेत्रमा पाइपलाइन विस्तार नभएकाले चाँडो सम्पन्न गर्न आग्रह गर्नुभयो ।
उहाँले गुहेश्वरीदेखि गोकर्णेश्वरसम्मको वाग्मती करिडोरको बाटो चाँडो कालोपत्रे गर्न सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।
सांसद कृष्णभक्त पोखरेलले विपद् व्यवस्थापनका लागि भइरहेको पूर्वतयारबारे सरकारले गरिरहेको तयारीको संसद्मा जानकारी गराउन र अनुगमनमा सामेल गराउन माग गर्नुभयो । उहाँले नारायणगढ–मुग्लिन सडकखण्डको दीर्घकालीन समाधान खोज्न आग्रह गर्नुभयो ।
सांसद खगराज अधिकारीले प्रधानन्यायाधीशको महाअभियोगको प्रस्ताव आजै समितिमा लैजान आग्रह गर्नुभयो । उहाँले पोखराको हेम्जालगायतका स्थानमा भारी वर्षापछि आएको बाढीबाट पीडित जनताको उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गर्नुभयो ।
सांसद खेमप्रसाद लोहोनीले पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्यवृद्धिले सम्पूर्ण उपभोग्य वस्तुको मूल्य बढेकाले जनतालाई समस्या परेको भन्दै यसको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद गणेशसिंह ठगुन्नाले दैनिक उपभोग्य वस्तुको महँगीले सर्वसाधारणलाई मर्का परेको भन्दै उनीहरूलाई राहतको व्यवस्था गर्न सरकारसमक्ष माग गर्नुभयो ।
सांसद गङ्गा चौधरीले बलात्कारको मुद्दालाई कमजोर बनाउन जिम्मेवार निकायबाट भएको कदमको भर्त्सना गर्दै त्यस कार्यमा संलग्नलाई कारबाहीको माग गर्नुभयो ।
सांसद घनश्याम खतिवडाले अत्यधिक वर्षाले देशभर बाढीपहिरो, डुबानका घटना बढिरहेकाले त्यसको मारमा जनता परेका र महँगी बढेको तथा शेयर बजार घटिरहेको यस विषयमा सरकारको व्यवस्थापकीय तयारी के छ भनी प्रश्न गर्नुभयो ।
सांसद जिपछिरिङ लामाले शून्य समयमा उठेका सवालको कार्यान्वयन हुन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद झपटबहादुर रावलले करिब ३० वर्षअघि निर्माण गरिएको सुदूरपश्चिमको कैलालीस्थित सिङ्गल टावर केवलस्टेट मोटर पुलको मर्मत सम्भार गरी रात्रिकालीन बत्ती व्यवस्थापन गर्न माग गर्नुभयो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नागरिकता विधेयक, #प्रतिनिधिसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्