काठमाडौँका विभिन्न स्थानका चार जनामा हैजा पुष्टि
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानका चार जनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चार जनामा हैजा भएको पुष्टि जानकारी दिनुभयो । उहाँका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक÷एक जनामा हैजा देखिएको छ । उहाँले भन्नुभयो “ फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुनसक्छ । काठमाडौँ हैजाको जोखिममा रहेको देखियो । ”
विगतमा काठमाडौँमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उहाँले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका बिरामी खोजिरहेको बताउनुभयो ।
बागबजारका दुई जना १८ र २३ वर्षीय युवतीमा यही असार ५ गते र भोटेवहाल र डिल्लीबजारमा एक÷एकमा मङ्गलवार देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउनका लागि जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सन समेत रहनु भएका फुयालले फोहोरको प्रकोप बढेर खानेपानीको प्रदूषण भएर हैजा रोग देखिएको बताउनुभयो । उहाँले बागबजारको पानीको तीन वटा नमुना सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र टुवेलको पानीको नमुना परीक्षण गरिएको छ । उहाँले पानीको कारणले हैजा भएको आफूले शङ्का गरे पनि परीक्षणको रिपोट नआएकन केही भन्न नसकिने बताउनुभयो ।
“हैजा देखिएको ठाउँमा गएर हैजा देखिएका व्यक्तिले के के खाएका हुन भनेर हामीले परीक्षण गर्ने काम गरिरहेका छौ, ” स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भन्नुभयो, “ हामीले घर वरपरका छिमेकीसँग पनि के कस्ता खानेपानी र खानेकुरा खाएका छन् भनेर अध्ययन गरिरहेका छौ ।”
उहाँले बागबजारका दुई जना युवतीले जार र धाराको पानी नउमालिकन खाने गरेको पाइएको बताउनुभयो । असार २ गते चटपटे खाएपछि ती युवतीलाई मुखबाट उल्टी गर्नुको साथै पखाला लागको थियो ।
प्रमुख अधिकारीले ती युवतीले काम गर्ने ठाउँ डिल्लीबजार गएर खानेपानी र खानेकुराको परीक्षण भइरहेको बताउनुभयो । स्वास्थ्य कार्यालय काठमाडौँले चार जनामा हैजा देखिएपछि सतर्क अपनाउन आग्रह गरेको छ । कार्यालयले शुद्ध खानेपानी खान, प्रदूषित खानेकुरा तथा झिँगा धन्केको खानेकुरा नखान आग्रह गर्दै माइकिङ समेत सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
यस्तै महिला स्वास्थ्य स्वयसेविकाले पनि खानेपानीलाई शुद्धीकरण गरेर मात्र खान आग्रह गर्दै टोल टोलमा खटाइएको उहाँले बताउनुभयो । कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी बोक्ने ट्याङक्टर व्यवसायी र जार व्यवसायीसँग पनि खानेपानी शुद्धीकरण गरेर मात्र वितरण गर्न भनेको छ ।
यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेष गरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ ।
मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रुपमा दिसा पिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसा पिसाब गरेपछि अनिवार्य रुपमा साबुन पानीले हात धुन अनुरोध गरिएको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #hot, #हैजा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्