सिस्नेरी खोलाको पानी राजधानीमा ल्याउन प्रारम्भिक अध्ययन
मकवानपुर। काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिक रूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गरी राजधानीमा ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन दिएपछि आज खानेपानीमन्त्री उमाकान्त चौधरीले सो स्थलको स्थलगत अध्ययन गर्नुभयो । स्थलगत अध्ययनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले पाइपलाइन बिच्छ्याएपछि दैनिक छ करोड लिटर पानी राजधानी लैजान सकिने बताउनुभयो ।
मेलम्चीको विकल्पका रूपमा यो आयोजनालाई अघि बढाउन लागिएको उहाँले जानकारी दिनुभयो । यो आयोजनाको खर्च मेलम्चीको भन्दा कम लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राजधानीमा याङ्री र लार्केको पानी आउनुअघि नै सिस्नेरीबाट पानी ल्याउने गरी विस्तृत परियोजना प्रस्ताव तयारी एवं वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाउन लागिएको छ ।
यो आयोजना सम्पन्न गर्न रु २६ अर्ब लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । विस्तृत परियोजना प्रस्ताव तयारी र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकी आर्थिक वर्ष २०८०/०८१ देखि नै काम सुरु गर्ने लक्ष्य मन्त्रालय लिएको पनि मन्त्री चौधरीले बताउनुभयो । विसं २०७२ को संविधानले मौलिक हकमै खानेपानीलाई राखेपछि यसको पूर्तिका लागि पहिलो प्राथमिकता दिएर काम अघि बढाउन लागिएको हो । मेलम्चीको पानी बन्द भएका बेला पनि आपूर्ति नरोक्न वैकल्पिक रूपमा अन्य मुहान र स्रोतको पनि बोर्डले अध्ययन गरिरहेको छ । काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिकाका मुहान संरक्षण गरी पानी सङ्कलन गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिनुभयो ।
पानीका स्रोत र मुहानको संरक्षणको कार्यक्रमलाई पनि मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिएको छ । बोर्डले पानी सुरक्षाका नक्सा नै बनाएर काम गरेको जनाइएको छ । यहाँको पानी लैजान यहाँका इन्द्रसरोवर र भीमफेदी गाउँपालिकासँग समेत समन्वय भएको मन्त्रालयले जनाएको छ । दुवै पालिकाले राजधानीमा पानी लैजान सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यहाँको पानी राजधानी लैजाँदा प्रभावित स्थलमा कम बस्ती रहेकाले ठूलो प्रभाव नपर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
दुवै खोलाको पानी बाँध निर्माण गरिने स्थानभन्दा २०० मिटर तल वाग्मतीमै मिसिने भएकाले पनि पनि कसैलाई प्रभाव पर्दैन । वाग्मती बेसिनकै पानी भएकाले केही तल रहेको मध्य वाग्मती जलविद्युत् आयोजनामा पनि प्रभाव नपर्ने जनाइएको छ । काठमाडौँ उपत्यकामा आएको पानी प्रयोगपछि प्रशोधन गरेर फेरि वाग्मतीबाटै बाहिरिने भएकाले कुनै प्रभाव नपर्ने बोर्डका कार्यकारी निर्देशक राणाले बताउनुभयो ।
वर्षाका समयमा सुरुङभित्र बाढी छिर्ने त्रासले मेलम्ची आयोजनाको पानी मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बुमै बन्द गर्नुपरेपछि खानेपानी मन्त्रालयले काठमाडौँ उपत्यकामा वैकल्पिक स्रोतको खोजी गरिरहेको थियो । स्रोत खोजी गर्ने क्रममा बोर्डले मकवानपुरका कुलेखानी खोला र सिस्नेरी खोलाको अध्ययन गरेको थियो । यो आयोजना स्थल फर्पिङस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पम्पिङ स्टेशनबाट १४ किलोमिटर दूरीमा पर्ने भएकाले पनि पानी ल्याउन सहज रहेको बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिनुभयो । कुलेखानी खोलाको शाखा कोगतेको पानी पनि यसमा मिसिन्छ ।
यो आयोजनाअन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगते र कुलेखानी खोलाको पानी सङ्कलन गरिने छ । लिमिटेडको सैँबु भैँसेपाटीस्थित पानीपोखरीमा बाँधबाट पानी लगी काठमाडौँ उपत्यकामा वितरण गर्ने लक्ष्य राखिएको छ ।
प्रस्तावित बाँधको लम्बाई ३४० मिटर र उचाई ६० मिटर रहने छ । बाँध निर्माण स्थल समुद्री सतहबाट एक हजार १२० मिटर उचाइमा रहने छ । सिस्नेरीमा जम्मा गरिने पानीलाई करिब दुई किमी उत्तरतर्फ रहेको दरवन डाँडा भनिने एक हजार १४० मिटर उचाइको स्थानमा ल्याई पानीपोखरी बनाएर प्रशोधन गरी काठमाडौँ उपत्यकामा पठाउने लक्ष्य राखिएको छ । पानीपोखरीबाट हाल निर्माणाधीन द्रुतमार्गमा करिब १९ किमी पाइपलाइन बिच्छ्याइएर ‘ग्राभिटी सिस्टम’ बाट सैँबु पानीपोखरीमा ल्याउने प्रस्ताव गरिएको बोर्डका इञ्जिनीयर नवीन तिवारीले बताउनुभयो ।रासस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #खानेपानी, #सिस्नेरी खोला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्