चालु आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे हुने
काठमाडौँ । चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्रे हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे’ का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्रे हुने देखिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार ८०० किमी सडक कालोपत्रेको लक्ष्य लिएको थियो । गत महिनासम्ममा झण्डै ६०० किमी मात्रै कालोपत्रे गरिसकिएको सडक विभागका महानिर्देशक अर्नुनजङ्ग थापाले बताउनुभयो । आठ सय किमी सडक ग्राभेल गर्ने लक्ष्य लिइएकामा हालसम्म २९५ किमी सम्पन्न भएको छ । अहिले पनि ‘कन्स्ट्रक्सन होलिडे’का कारण निर्माण सुस्त छ । उहाँले भन्नुभयो, “यो महिनाको अन्तिमसम्ममा एक डेढ सयसम्म बढ्न सक्छ ।”
गत महिनासम्ममा मन्त्रालयको भौतिक प्रगति ५५ प्रतिशत थियो । भुक्तानी कम भएकाले वित्तीय प्रगति भने झण्डै ३९ प्रतिशत मात्रै थियो । कतिपय योजनामा काम हुने तर बजेट नहुने र कतिपयमा बजेट हुने तर काम नहुने समस्या रहेको छ । काम भएको शीर्षकमा पैसा नभएमा काम नभएका शीर्षकबाट त्यसमा रकमान्तर गर्नुपर्ने हुन्छ । अर्थ मन्त्रालयमा रकमान्तरका लागि अनुरोध गरिएको र मन्त्रालयले स्वीकृत गरेपछि भुक्तानी गरिने महानिर्देशक थापाले बताउनुभयो ।
चालु आवमा प्रगति ६० देखि ६५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत वर्षमा सुरु विनियोजनअनुसार ७६ प्रतिशत प्रगति भएको थियो । चालु आवमा गत वर्ष जति प्रगति नहुने उहाँको भनाइ थियो ।
चालु आवमा पूरक बजेट तीन महिना ढिला भएकाले यकिन विनियोजन ढिला मात्रै थाहा भएको महानिर्देशक थापाले बताउनुभयो । पछिल्लो दुई वर्षदेखि कोभिड सङ्क्रमणका कारण निर्माणमा असर पुगिरहेको छ । चालु आवमा पनि सङ्क्रमणका कारण निर्माणमा अवरोध पुगेको भएको मन्त्रालयले जनाएको छ ।
अहिले युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थ, रड, छडलगायतको निर्माण सामग्रीको भाउ निकै बढेको छ । युद्ध अघि ती सामग्रीको भाउ अहिले दोब्बर भएपछि निर्माण व्यवसायीले ‘कन्स्ट्रक्सन होलिडे’ गरिरहेका छन् । महानिर्देशक थापाले भन्नुभयो, “व्यवसायीले अलकत्राको काम नगरेको, छडको काम कम गरेको र इन्धन लाग्ने काम कम गरेका छन् ।”
सरकारले केही वर्ष यता बर्सेनि ३०० पुल निर्माणको लक्ष्य लिँदै आएको छ । गत महिनासम्ममा १०१ पुल निर्माण गरिएको थियो । अरू पुल पनि सम्पन्न भइरहेको महानिर्देशक थापाले बताउनुभयो । कतिपय पुलको मुख्य संरचना निर्माण सकिएर रेलिङ, रङ, पहुँच सडक बन्न बाँकी छ । उहाँले भन्नुभयो, “यो महिनामा गत वर्षभन्दा कम हुँदैन भन्ने विश्वास छ ।”
अहिले निर्माणाधीन सडक र पुल समयमा नसकिएमा असार पछि अवधि थप गर्नुपर्ने हुनसक्ने सडक विभागले जनाएको छ । ठेक्काको अवधि थप्नका लागि कारण चाहिने महानिर्देशक थापाले बताउनुभयो । योजना समयमा नसकिनु नै प्रमुख कारण भएकाले त्यो अर्को वर्षका लागि धकेलिन सक्ने उहाँको भनाइ थियो ।
समग्रमा सडकमा प्रगति कम भए पनि राष्ट्रिय गौरवको आयोजनामा भने चालु आवमा छुट्टाइएको रकमभन्दा बढी खर्च हुने देखिएको छ । अहिले नै ती आयोजनामा सुरुमा भएको विनियोजन रकम खर्च भइसकेको छ । भौतिक प्रगतिका आधारमा पनि उल्लेखनीय काम भएको पाइएको विभागका महानिर्देशक थापाले बताउनुभयो । मदन भण्डारी राजमार्गमा चालु आवमा रु दुई अर्ब विनियोजन भएकामा हालसम्म रु साढे तीन अर्ब खर्च भइसकेको छ । सो आयोजनामा अझै एक डेढ अर्ब थप खर्च हुने देखिएको छ । हुलाकी राजमार्गमा पनि गत वर्षहरूमा जस्तै धेरै खर्च भएको उहाँले जानकारी दिनुभयो । मध्य पहाडीमा विभिन्न किसिमका विवादले तुलनात्मक रुपमा कम खर्च भएको छ ।
चालु आवमा लक्ष्यभन्दा कम प्रगति हुने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विनियोजन बजेट शीर्षकमाथि प्रतिनिधिसभाको बैठकमा बताउनुभएको थियो । सरकारले विगतमा सुरु गरेका कतिपय योजनाका स्तरोन्नति आगामी आवमा हुने उहाँले त्यसबखत जानकारी दिनुभएको थियो।
चालु आवको पहिलो आठ महिनामा ३२५ किमी सडक कालोपत्रे र ८० पुल निर्माण भएको सरकारले गत महिना सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । उक्त सर्वेक्षणअनुसार गत फागुनसम्ममा २६५ किमी सडक खण्डस्मिथ (ग्राभेल) भएको थियो भने ९५ किमी मर्मत भएको थियो ।
हालसम्म १६ हजार ९३९ किमी कालोपत्रे सडक र आठ हजार हजार ८२१ किमी कच्ची गरी सडकको लम्बाइ ३३ हजार ८७१ किमी पुगेको छ । गत असारसम्म १६ हजार ६१४ किमी कालोपत्रे, आठ हजार ७१ किमी खण्डस्मिथ र आठ हजार ९३१ किमी कच्ची सडक बनेको थियो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चालु आर्थिक वर्ष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्