नेपालको सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल मगर सङ्घले आज राजधानीको खुलामञ्चमा आयोजना गरेको ‘मगर भूमे/भूम्या पर्व–२०७९’ लाई सम्बोधन गर्दै उहाँले सभ्यता, इतिहास र पहिचानका रुपमा रहेका चाडपर्वको संरक्षण र विकास आवश्यक रहेको बताउनुभयो ।
विकास र समृद्धिको बाधकका रुपमा रहेका तथा अन्धविश्वास र कुरीतिले भरिएका संस्कार परिमार्जन गर्नुपर्नेमा उपराष्ट्रपतिले ध्यानाकर्षण गराउनुभयो । “चाडपर्वसँग भाषा, भूगोल, सभ्यता, संस्कृति र पहिचान जोडिएको छ, त्यसकारण हाम्रो सभ्यता, इतिहास र पहिचानका रुपमा रहेका चाडपर्वको संरक्षण र विकास गर्न जरुरी छ । संस्कृति, भाषा रहेन भने हाम्रो भौतिक उपस्थितिले सार्थकता पाउने छैन”, उहाँले भन्नुभयो ।
मगर समुदायमा भएका प्राचीन मौलिक संस्कृति, चाडपर्वमध्ये भूमे पर्व सांस्कृतिक सभ्यतासँग जोडिएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले प्रकृति र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धको प्रतीकका रुपमा भूमे पर्व रहेको बताउनुभयो । “भूमि पर्व भूमिप्रति सम्मान र आदर हो । भूमि छ र त हामी मानव छौँ । भूमि भएर यहाँ प्राणी जगत् छ”, उहाँले भन्नुभयो, “त्यहीँ भूमिमा फलेको अन्नबाली खाएर हामी जिउने अवसर पाएका छौँ । त्यसकारण भूमे पर्व प्रकृति र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धको प्रतीक पनि हो ।”
नेपालमा बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति र भूगोलका समुदायका आ–आफ्नै मौलिक पहिचान रहेको उल्लेख गर्दै उहाँले एकअर्काको पहिचानलाई स्वीकार र सम्मान गर्न सबैले सक्नुपर्ने बताउनुभयो । “एकअर्काको पहिचान पनि स्वीकार र सम्मान गर्न सकेमा मात्रै हाम्रो राष्ट्रिय एकता थप मजबुत र सुदृढ हुन सक्छ”, उपराष्ट्रपतिले भन्नुभयो ।
प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिका सभापति जयपुरी घर्तीले मगरलगायत आदिवासी जनजाति समुदायका व्यक्तिलाई राज्यका निकायमा अर्थपूर्ण सहभागिता पुर्याउनुपर्ने बताउनुभयो । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउन छुट्टै आदिवासी जनजाति मन्त्रालय बनाउनुपर्ने बताउनुभयो ।
आदिवासी जनजाति महासङ्घका अध्यक्ष नेपाल मगर सङ्घका निवर्तमान अध्यक्ष नवीन रोकामगरले सबै जातजातिको मुख्य पर्वलाई राष्ट्रिय मान्यता दिनुपर्ने र परिवर्तनका लागि योगदान गरेका आदिवासी जनजाति समुदायलाई अधिकार दिन कुनै कन्जुस्याइँ गर्न नहुने बताउनुभयो ।
वर्षायामको सुरुआतसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भन्ने मान्यताका साथ काठमाडौँमा बसोबास गर्दै आएका मगर समुदायका व्यक्तिले आज खुलामञ्चमा भेला भएर भूमे पर्व मनाएका छन् । अथार मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले भूमे पर्वका अवसरमा भूमिलाई पूजा गर्दछन् । रोल्पा, पूर्वरुकुम, प्युठान, सल्यान, पश्चिम रुकुम, दाङ तथा धौलागिरिका बागलुङ, म्याग्दीलगायत जिल्लामा भूमे पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #नन्दबहादुर पुन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्