निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने
काठमाडौँ । सरकारले बहुप्रतिक्षित बाराको निजगढमा प्रस्तावित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा निजगढ विमानस्थल निर्माण गरिने उल्लेख छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल विगत २८ वर्षदेखि निर्माणको चर्चामा छ । उक्त विमानस्थल निर्माण प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतले बिहीबार फैसला गरेको थियो । निजगढमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को चाप नियन्त्रण हुने अपेक्षासहित विमानस्थल निर्माण प्रक्रिया अघि बढाइएको थियो । यो विमानस्थल निर्माणका लागि हालसम्म झण्डै रु तीन अर्ब खर्च भइसकेको छ । वन र वातावरणको विषयलाई लिएर विमानस्थल निर्माणको काम अघि बढ्न सकेको थिएन ।
टिआइएमा दोस्रो टर्मिनल बनाइने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को चाप नियन्त्रण गर्न दोस्रो टर्मिनल भवन निर्माण गर्न रु दुई अर्ब बजेट विनियोजन गरिएको छ । कूल ९२ लाख क्षमताको टिआइए अबको केही वर्षभित्रै साँघुरो हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हाल यो विमानस्थलमा ८० लाख हाराहारी यात्रुको चाप छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गरिएको छ । हालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक बनाइने बजेटमा व्यवस्था गरिएको छ ।
पर्यटन विकासका लागि रु ९ अर्ब ३८ करोड
सरकारले पर्यटन क्षेत्रको विकासका लागि रु नौ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आज पेश गर्नुभएको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा पर्यटन क्षेत्रको विकास र गन्तव्य प्रवर्द्धनका लागि बजेट विनियोजन गरिएको हो । बजेटमा आगामी आर्थिक वर्ष थप १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिने भनिएको छ । त्यस्तै पर्यटनलाई आयआर्जन र समृद्धिको आधारका रूपमा लिएर विकास प्रवर्द्धन गर्ने लक्ष्य पनि लिएको छ ।
हवाई पूर्वाधारमा १२ अर्ब २४ करोड विनियोजन
सरकारले आगामी आवको बजेटमा हवाई क्षेत्रको पूर्वाधार विकासका लागि रु १२ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको बजेटमा हवाई पूर्वाधार विकासलाई प्राथमिकता दिइएको हो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्य अगाडि बढाइने जनाइएको छ ।
नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र आर्थिक समृद्धिको आधारका रूपमा विकास गरिने उल्लेख छ । कोभिड महामारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्र सम्बद्ध व्यवसायलाई आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक इजाजत र नवीकरण दस्तुर छुट दिइएको छ ।
भूकम्पबाट क्षतिग्रस्त पुरातात्त्विक सम्पदाको पुनः संरचनाको काम आगामी आर्थिक वर्षभित्र सक्ने गरी रु दुई अर्ब बजेट विनियोजन गरिएको छ । स्थानीय तहको साझेदारीतामा सञ्चालित पर्यटन पूर्वाधार विकासका लागि रु ९० करोड विनियोजन गरिएको छ । उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालयन ट्रेलको निर्माणका लागि रु ३३ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिनुभयो
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्