काठमाडौँको मेयरमा जित निश्चित भएपछि बालेन साहले के भने ?
काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो जित सुनिश्चित भएपछि मतदाताहरूलाई धन्यवाद दिएका छन् ।
उनले चुनावी परिणामलाई जित-हारका रूपमा नलिन आह्वानसमेत गरेका छन् ।
त्यस्तै, उनले ठाउँठाउँबाट र्यालीका लागि काठमाडौं आउने सुनिएको भन्दै त्यस्तो दु:ख नगर्न समेत आग्रह गरेका छन् ।
‘अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा ‘धन्यवाद र्याली गर्नु होला’ बालेनले भनेका छन् ।
उनले अबको बाटो समय नभएको र अभियानको वास्तविक परीक्षा अब सुरू हुने बताएका छन् ।
‘हामीले हिड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ’ उनले भनेका छन् ।
यस्तो छ उनको भनाइः
स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुदैन ।
जीत–हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।
यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । हाम्रो स्वयमको पनि बढिमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।
दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाण्डौँ आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौँ । हाम्रो अनुरोध के हुन्छ भने तपाईहरु कोही पनि र्यालीका लागि काठमाण्डौँ आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ ।
अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाई रहेकै क्षेत्रमा ’धन्यवाद र्याली’ गर्नु होला । त्यसले सो स्थानमा बढि प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ’बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।
अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परिक्षा अब सुरु हुनेछ । हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।
हामीलाई साथ र सुझाब जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँग जोडिरहेका हुन्छौँ । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।
अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ । हरेक टोलटोल र गाउँगाउँमा ’बालेन’हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् ।
अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडी बढौँ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं महानगर, #बालेन साह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्