Techie IT
शनिबार, कात्तिक ८,२०८३

तारकेश्वर मेयरका सातै उम्मेदवार घरदैलोमा


स्थानीय तहको निर्वाचन जतिजति नजिकिँदै छ, चुनावी मैदानमा होमिएका उम्मेदवारहरु उतिउति घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । तारकेश्वर नगरपालिकाका सातै जना मेयरका उम्मेदवार जनताका बीचमा पुगेर मत मागिरहेका छन् ।

नेपाली काँग्रेसको तर्फबाट तारकेश्वर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कृष्णहरि महर्जन स्थानीय नेताहरुको दलबलसहित चुनावी घरदैलोमा छन् । नेपाली काँग्रेस यसैपनि ठुलो पार्टी भएको र पछिल्लो समय जनसमर्थन पनि बढ्दै गएपछि चुनाव जित्नेमा ढुक्क देखिन्छन् । जनताको समर्थनलाई भोटका बाकसमा खसाउनका लागि उनी सबै तहका जनताको कुरा सुन्दै, सुझाव लिँदै चुनावमा होमिएको बताउँछन् ।

‘युवा पुस्तालाई मात्रै मैले समेटेको छैन । सबैलाई समेटेर लग्ने सक्ने एकमात्र उम्मेदवार म हो ।’ मेयरका उम्मेदवार महर्जनले भने, ‘विकास निर्माणका हरेक एजेन्डालाई सफल बनाउन म भूमिका खेल्न सक्छु । यो मेरो प्रतिवद्धता पनि हो ।’ घरदैलो अभियानमा महर्जनसँग जनताले विशेष गरि प्राकृतिक सम्पदाको संरक्षण र अव्यवस्थित शहरीकरणको प्रश्न उठाएका थिए । जवाफमा उनले व्यवस्थित शहरीकरण नै आफ्नो मुद्धा भएको र प्राकृतिक सम्पदाका संरक्षणका लागि पनि कुनै सम्झौता नगरी काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

विगत पाँच बर्षको अवधिमा जनताले जुन खालको दुःख पाएका थिए आफु निर्वाचित भएपछि त्यो नहुने महर्जनले विश्वास दिलाएका छन् । आफुले बलियो संगठनको तर्फबाट प्रतिनिधित्व गरेकाले चुनाव जित्नेमा दुई मत नभएको उनको अठोट छ ।

‘हाम्रो पार्टीभित्र पनि केही असन्तुष्टि र विवादहरु थिए । तर अहिले हामी एकढीक्का भएर चुनावमा होमिएका छौं । असन्तुष्ट बनेका साथीहरु नै एकताबद्ध भएर घरदैलोमा लागिरहनु भएको छ’, महर्जनले भने । तारकेश्वरको विकास र समृद्धिका लागि यहाँका स्थानीयहरूसँग छलफल र सुझाव ग्रहण गर्दै आफु अघि बढ्ने महर्जनले बताएका छन् ।

तारकेश्वरको आगामी नेतृत्वका लागि सात जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेले पुरानै मेयरलाई दोहार्‍याएको छ भने सत्ता गठबन्धनमै आवद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर मेयरका सातै उम्मेदवार


तपाईको कमेन्ट लेख्नुहोस्