प्रधानमन्त्री देउवाले गरे नेपालकै पहिलो चोभार बन्दरगाहको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्मित नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको आज एक समारोहका बीच उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री देउवाले मूलद्वारमा टाँगिएको रिबन काटेर तीन मालबाहक सवारीसाधनलाई प्रवेश गराई बन्दरगाहको उद्घाटन गरेका हुन् । उक्त समारोहमा प्रधानमन्त्री देउवाले नेपालकै पहिलो सुक्खा बन्दरगाह निर्माणले राजधानी काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हबका रूपमा विकास गर्न कोसेढुङ्गा हुने विश्वास व्यक्त गरेका छन् ।
उनले निर्यात व्यापारलाई सहजीकरण गर्न यसको भूमिका विशेष रहने र भन्सार जाँचपास, क्वारेन्टिनलगायतका सेवा एकै थलोमा उपलब्ध हुँदा लागत घट्ने तथा प्रशासनिक प्रक्रियालाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले व्यापारलाई सहजीकरण गरी पारदर्शीता अभिवृद्धिमार्फत निर्यात प्रवद्र्धनमा पनि बन्दरगाहले सहयोग पुग्ने बताए । बन्दरगाहले काठमाडौं उपत्यकाबाट हुने व्यापारलाई थप सहजता प्रदान गर्न र वस्तु वा सेवाको लागत घटाई थप प्रतिस्पर्धी र प्रभावकारी बनाउने उनको भनाइ छ ।

नेपालको वैदेशिक व्यापारमा उच्च पारवहनमा झन्झटिलो प्रशासनिक प्रक्रिया अझै समस्याका रूपमा रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न यस प्रकारका गुणस्तरीय व्यापार पूर्वाधारले मद्दत गर्ने प्रधानमन्त्री देउवाले बताए।
‘मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलितरूपमा विकास गर्दै व्यापार पूर्वाधार व्यवस्थापन र प्रतिस्पर्धी बनाउन सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी महत्वपूर्ण संरचना हो’, प्रधानमन्त्री देउवाले भने, ‘यसलाई आत्मसात गरी सरकारले मुलुकका विभिन्न स्थानमा सुक्खा बन्दरगाह निर्माण र छिमेकी मुलुकको सीमा क्षेत्रमा जोडिएको नाका र भन्सार कोरिडोरको स्तरोन्नतिलाई प्राथमिकता दिँदै आएको छ ।’ उनले आर्थिक वृद्धिको इञ्जिन मानिने अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा यस प्रकारका संरचना निर्माणको खाँचो रहेको औँल्याए ।
प्रधानमन्त्री देउवाले नेपालको औद्योगिक वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाई अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको निर्यातमार्फत व्यापार घाटा कम गर्न सकिने बताए । साथै, स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने र त्यसले देशमा औद्योगिक विकास र रोजगारीको सिर्जनामा सहयोग पुग्ने उनले बताए ।
मुलुकमा लगानी र औद्योगिक विकासको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको, आवश्यक पर्ने नीतिगत र प्रक्रियागत संरचनाको सुधारका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएको र यसलाई निरन्तरता दिने समारोहमा प्रधानमन्त्रीले विश्वास दिलाए ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्