संविधान कार्यान्वयनमा सकारात्मक भूमिका निर्वाह गर्न अपिल
काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले संविधानको कार्यान्वयनका निम्ति आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न सबैमा अपिल गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सका अवसरमा आज आयोजित समारोहमा शुभकामना व्यक्त गर्दै जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण रुपमा संस्थागत गर्दै मुलुकको आर्थिक विकास गर्न र संविधान कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुने विचार राखे ।
उनले भने, ‘राजनीतिक दलले उठाउनुपर्ने मुद्दा नेपाली मिडियाले उठाएपछि मात्रै त्यसलाई दलले उठाउने गरेका छन्, राजनीतिक नेतृत्वले गर्नुपर्ने काम मूलतः नेपालमा मिडियाले उठाउने गरेको पाउँछु भ्रष्टाचार, आम जनताको विषयलाई मिडियाले उठाउँछ र हामीले पछ्याउने गरेका छौँ, त्यस अर्थमा पनि मिडियाको भूमिका महत्वपूर्ण छ ।’ नेपालले विभिन्न देशसँग सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुक अब स्थानीय निकायको निर्वाचनमा प्रवेश गर्न लागेको सन्दर्भ उल्लेख गर्दै संविधानको कार्यान्वयनका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘व्यापार घाटा झनै बढेको छ, विविध खालका आर्थिक समस्या सामना गर्नुपरेको छ, राजनीतिक रुपमा स्थिरता दिन सकिएको छैन, अब हामी जनताको अदालतमा खडा हुने स्थिति छ, अब प्राप्त हुने जनमतले अग्रगति र स्थिरतातर्फ लैजान मार्गदर्शन गर्छ, आउने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढङ्गले सम्पन्न गर्नुपर्छ ।’
नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी निर्वाचनमा गठबन्धन गर्दा संसदीय मूल्य र मान्यतालाई ध्यान दिनुपर्ने धारणा राखे । पूर्वसभामुख नेम्वाङले भने, ‘हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ, यो निर्वाचन प्रणालीमा अपवादमा बहुमत आउँछ, गठबन्धन गर्नुपर्छ, तर, त्यो मूल्य र मान्यताका आधारमा हुनुपर्छ ।’
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी नेत्री तथा सांसद चन्दा चौधरीले नेताहरुलाई अब व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको हितमा केन्द्रित हुन सुझाव दिइन्।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सरकारसमक्ष प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाको माग गरे । क्लबका सभापति ऋषि धमलाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नतर्फ केन्द्रित हुन दलका शीर्ष नेताहरुलाई आग्रह गरे ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्